काठमाण्डौँ । सत्तारुढ नेकपा (एमाले) को हिजो रातिसम्म बसेको सचिवालय वैठकमा प्रस्तुत प्रस्तावले एमालेको राजनीतिमा तरङ्ग पैदा गरेको छ । बिहीबार दिउँसो पौने २ बजेबाट सुरु भएको बैठक मध्यरात मात्र सकियो । १० घण्टा लामो बैठकमा पार्टी विधानको प्रस्तावमाथि लामो छलफल भएको थियो ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरूले आफ्ना धारणा राखेका थिए । पौडेलले ल्याएको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने लगायत थियो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार १५ जनाको पदाधिकारी नै स्थायी कमिटी सदस्य हुने प्रस्ताव पनि पारित भएको छ । केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय हुनेछ । सदस्यता दुई खाले हुने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । तर सबैको चासोमा परेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा भने धेरै लामो छलफल चलेको थियो ।
विधान संशोधनको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच ‘भनाभन’ नै चलेको छ । बैठकमा अध्यक्ष ओली र नेता पोखरेलबीच सवाल–जवाफ भएको हो । उपाध्यक्ष विष्णु पौडेलले गरेको विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा अध्यक्ष ओली र वरिष्ठ नेताबीच पहिलो विधान महाधिवेशनले गरेको विधानको व्यवस्थामा भएको फेरबदलका बारेमा ‘भनाभन’ भएको हो ।
त्यसक्रममा नेता पोखरेलले विधान नै तीन पटक छापिएको भन्दै प्रश्न गरेका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले तीन पटक विधान छापिएको प्रसंग उठाएपछि ओलीले हस्तक्षेप गर्न खोज्दा पोखरेल जंगिएका थिए । पोखरेलको प्रश्नपछि अध्यक्ष ओलीले विद्या भण्डारी निकट नेता कर्ण थापाको जस्तो कुरा नगर्न भनेका थिए । ‘तपाई पनि पदाधिकारी नै हो । तर कर्ण थापाको जस्तो कुरो बोकेर नहिँड्दा राम्रो’, ओलीले पोखरेललाई भनेका थिए । त्यसपछि पोखरेल पनि अलि चर्को स्वरमा बोल्न पुगेका थिए ।
‘मलाई कर्ण थापासँग किन जोड्नु हुन्छ ? तपाई र मेराबीच विचार र सिद्धान्तमा कुनै भिन्नता छैन’, पोखरेलले ओलीलाई जवाफ फर्काएका थिए । ‘म किन अर्काको विचार बोल्छु ? म जत्तिको मानिस अर्काको प्रवक्ता हुनुपर्छ ? मेरो आफ्नो विवेक छैन ? म विवेक प्रयोग गर्न सक्दिनँ, तीन वटा विधान छापिएको यथार्थ हो ? त्यसलाई पुष्टि गर्ने महाधिवेशनका दस्तावेज सुरक्षित छन्, तिनैले बोलिरहेका छन् ?’ भन्दै प्रतिवाद गरेका थिए ।
सचिवालय बैठकमा पोरखेलले अध्यक्ष ओलीलाई ‘तपाईं अब एमालेको अध्यक्षबाट हट्नु पर्छ’ समेत भनेको पदाधिकारीहरूको दाबी छ । ‘तपाईं अध्यक्षबाट हट्नु पर्छ । पार्टीमा मेरो विकल्प छैन भन्दै हिँड्ने ? म नभए पार्टी चल्दैन, देश रहँदैन जस्तो कुरा गर्नु हुन्छ ? के भनेको त्यो ? कार्यशैली पनि त्यस्तै छ । मेरो मूल्यांकन शतप्रतिशत, अर्काको मूल्यांकन नै हुँदैन भन्नु हुन्छ ! पार्टीमा व्यक्तिको मूल्यांकन प्रमुख हुन्छ ? उसले जे ग-यो त्यही ठीक हुन्छ ? मूल्यांकनको प्रणाली हुँदैन, विधि हुँदैन ? साझा मूल्यांकन पनि हुन्छ । एउटा व्यक्तिलाई जे लागेको छ, त्यही पार्टी निर्णय हुन्छ ?’ पोखरेलको भनाइ उद्धृत गर्दै एक सदस्यले सुनाए ।

