काठमाण्डौँ । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी विधिबाट सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकले पदाधिकारी संख्या घटाउने, उमेरहद ७० वर्षे प्रावधान खारेज गर्ने, कार्यकारी पदमा दुुई कार्यकाल मात्र बस्न पाउने व्यवस्था खारेज गर्नेसहितका निर्णय गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पारित भएका दस्तावेजहरूमाथि बहस आवश्यक रहेको पनि बताएका छन् । ‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ, एमालेको सचिवालयको बैठकमा,’ उनले भने, ’कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौं । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔं । मर्यादा र सिष्टताका सीमालाई सबैले पालना गरौं । ’एमालेको सचिवालय बैठक विहीबार राति मध्यरातसम्म चलेको थियो । पोलिटब्युरो बैठक सारेर आज (शुक्रबार) ३ बजेका लागि बोलाइएको छ । विहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।


