तास्केन्द (उज्वेकिस्तान) । नेपालले एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानको सामना गर्दै छ । नेपाली समय अनुसार रातको ९ः१५ देखि यो खेल सुरु हुनेछ । यो यस्तो खेल हुनेछ, जसको विजेता अर्को वर्ष एसिया कपका लागि अस्ट्रेलियाको टिकट काट्नेछ । व्यावहारिक भएर कुरा गर्दा यी दुई देशको फुटबल विकास र विस्तारमा धेरै फरक छ । पछिल्लो समय उज्वेकिस्तान कम्तीमा एसियाली फुटबलको एउटा शक्ति बनेको छ ।
त्यसैले त गत वर्ष पेरिस ओलम्पिकमा उज्वेकिस्तानले डेब्यु मात्र गरेन, टोली सन् २०२६ मा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । उज्वेकिस्तान आइपुग्नु मात्र पर्छ, यहाँ फुटबलले गरेको विकास सजिलै महसुस गर्न सकिन्छ, प्रत्यक्ष देख्न सकिन्छ । चाहेजस्तो सुविधा, युवा एकेडेमी, व्यावसासिक सहयोगी । उज्वेकिस्तानी फुटबलमा अहिले के मात्र छैन र ?
यसले उज्वेकिस्तानमा महिला फुटबलको स्तर बढाउन पनि मदत गरेको छ । महिला फुटबलले पनि सबैखाले सुविधा पाएर आफूलाई अगाडि बढाएको छ । उज्वेकिस्तानी फुटबल संघका प्राविधिक निर्देशक रहेका गाइ काला भन्छन्, ‘फुटबलमा लगानीविना नतिजा अपेक्षा नगरे हुन्छ ।’ उनी बेल्जियमका हुन् । यूईएफएका इन्स्ट्रक्टर रहेका उनीसँग यूईएफए प्रो लाइसेन्स पनि छ ।
गत वर्षको फेब्रवरीमा उनले जिम्मेवारी पाएका थिए र त्यसयता उज्वेकिस्तानी फुटबलले अभुतपूर्व सफलता देखेको छ । उनी भन्छन्, ‘फुटबल जहाँ पनि खेलिन्छ । यस्तोमा विश्वकपमा छनोट हुनु सजिलो छैन । अरूभन्दा त राम्रो हुनु नै पर्छ । उज्वेकिस्तानबारे भन्ने हो भने पछिल्लो सफलता सबै लगातारको कडा मिहिनेत, भौतिक र मानव संशाधनमा ठूलो लगानीकै कारण सम्भव भएको हो । यो काम म उज्वेकिस्तान आउनु अगाडि नै सुरु भइसकेको थियो ।’
उज्वेकिस्तानको फुटबल संस्कृति आफैंमा पुरानो छ, आखिरमा यो सोभियत संघबाट टुक्रिएको देश हो । सबैलाई थाहा छ, तत्कालीन सोभियत संघ आफैंमा फुटबल शक्ति थियो । त्यहाँ महिला फुटबल सुरु भएको भने सन् ९० को दशकतिर हो । सांस्कृतिक र लैंगिक विभेदका बावजुत पनि उज्वेकिस्तानको महिला फुटबलले प्रगति गरेको छ नै ।
सन् १९९९ मा नेपाल र उज्वेकिस्तान पहिलो पटक एक आपसमा भिडेका थिए । अवसर थियो १२ औं संस्करणको एएफसी वुमेन्स च्याम्पियनसिप । त्यति बेला यो प्रतियोगिता फिलिपिन्समा भएको थियो । यसको पुरानो नाम थियो, एएफसी वुमेन्स एसियन कप । नोभेम्बर १६ को त्यो खेलमा नेपाल ६–१ ले पराजित रह्यो । तर पेमा डोल्मा लामा देशका लागि पहिलो ऐतिहासिक गोल गर्न सफल रहिन् ।
त्यसको साढे एक दशकभन्दा बढी समयपछि अहिले नेपाली टिम उज्वेकिस्तानमै छ । यहाँ महिला फुटबलले गरेको प्रगति देखेर प्रभावित हुने अवसर पाएको छ । नेपाली टिमकी नयाँ कप्तान तथा उच्च गोलकर्ता सावित्रा भण्डारी भन्छिन्, ‘कोही पनि त्यही बेला मात्र फुटबलको माथिल्लो स्तरमा पुग्न सक्छ, जति बेला भौतिक पूर्वाधार र मानव सशाधनमा पर्याप्त लगानी हुन्छ ।’
उनी आफैंलाई पनि युरोपमा खेलिसकेपछि के अनुभव छ विश्व फुटबलमा प्रभुत्व जमाउन यो महादेशले गरेको काम पनि त यही हो । उनी के मान्छिन् भने महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा अझै संघर्षरत छ । उनी भन्छिन्, ‘युरोपमै पनि ठूला क्लबले मात्र महिला फुटबलमा पर्याप्त दर्शक पाउने हो ।’ यति भन्दाभन्दै नेपालमा महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेल्दा समर्थकको कुनै समस्या हुन्न ।
यति कुराले ‘साम्बा’ असाध्यै खुसी हुन्छिन् । भर्खरै अबुधाबी कन्ट्री क्लबका लागि यूएईको महिला फुटबल लिगको उपाधि जितेर फर्केकी रेखा पौडेल पनि खुसी छिन्, जसरी केही एसियाली देशले यो क्षेत्रमा लगानी गरिरहेका छन् । उनी भन्छिन्, ‘यूएईमा महिला फुटबल समर्थक धेरै छैनन् । यो कुरामा नेपाल भाग्यमानी छ, तर नेपाली महिला फुटबलमा लगानी छैन अनि दीर्घकालीन योजनाको अभाव छ ।’
तिनै उज्वेक प्राविधिक निर्देशक काला नेपाली महिला फुटबलले गरेको प्रगतिबाट खुसी छन् । अझ बढी अचम्म मानिरहेका छन् । उनले मिली रंगशालामा आफैंले नेपालको खेल हेरेका छन् । उनी भन्छन्, ‘केही नेपाली खेलाडीको प्रदर्शन असाध्यै राम्रो छ । यदि सम्भव हुने हो भने केही खेलाडीलाई म उज्वेकिस्तानको टिममै राख्न चाहन्थें ।’
काला थप्छन्, ‘नेपालले यी खेलाडीलाई फुटबलमा कायम राख्न सक्नुपर्छ र सक्दो बढी सुविधा दिनुपर्छ । नेपालले मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्ड जत्तिको प्रशिक्षकलाई नियुक्त गर्नु राम्रो हो । उनमा फुटबल क्षेत्रका बाक्लो अनुभव छ । उनमा स्पष्ट दिशानिर्देश छ ।’
यसबीच तिनै प्रशिक्षक डे वाइल्ड नेपाली महिला फुटबल समर्थकलाई भन्न चाहन्छन्, नेपालको एसिया कप खेल्ने सम्भावनालाई लिएर सकारात्मक रहनुपर्छ । उनी पनि भन्छन्, ‘नेपालको फुटबल संघले महिला फुटबलमा लगानी बढाउनु नै पर्छ । दीर्घकालीन योजना पनि चाहिन्छ । साँच्चै नेपाली महिला फुटबल टिमको सम्भावना व्यापक छ ।’ दक्षिण एसियाकै उत्कृष्ट खेलाडी सजिलै भन्न मिल्ने सावित्रा पनि मान्छिन्, डे वाइल्ड नेपाली महिला फुटबलमा भित्रिनु सुखद हो, अझ यसलाई सकारात्मकभन्दा हुन्छ ।
सावित्राको यो मत पनि छ, ‘यत्तिकैले केही पनि पुग्दैन, प्रशिक्षकले मात्र एक्लै केही गर्न सक्ने होइनन् । प्रशिक्षकलाई पनि पर्याप्त स्रोत र साधन चाहिन्छ । यस्तो भयो भने मात्र नेपाली महिला फुटबलमा अझ बढी खेलाडी देखिने छन् ।’ साह्रै खुसीको कुरा के छ भने अभाव र अपर्याप्त साधन स्रोतबीच पनि नेपाली महिला खेलाडीलाई अगाडि बढ्न रोकावट छैन ।
तिनै सावित्रा भन्छिन्, ‘हामी आफ्नो देशका लागि शतप्रतिशत दिएर खेल्नेछौं । उज्वेकिस्तानविरुद्ध हुने निर्णायक खेल कति महत्त्वपूर्ण छ, त्यो सबैलाई थाहा छ । हामीले उज्वेकिस्तानविरुद्ध राम्रो खेल्ने प्रयासमा हुनेछौं । नेपाली टिम एकातर्फ दबाबमा छ, अर्कोतर्फ उत्प्रेरित पनि छ । बंगलादेशलले म्यानमारलाई हराएरको उदाहरण हाम्रोसामु छ । हामी पनि उनीहरूकै जस्तो उपलब्धि चुम्न चाहन्छौं ।’
छनोटको समूह ‘एफ’ मा शनिबार लाओस र श्रीलंकाबीच खेल हुनेछ । त्यसपछि नेपाल र उज्वेकिस्तान भिड्ने छन् । दुवै टिमको समान ६ अंकमात्र छैन, गोल अन्तर पनि समान नै छ । त्यसैले हुन सक्छ, विजयी टिमको निर्णयका लागि पेनाल्टी शुटआउट पनि आवश्यक पर्नेछ । एउटा तथ्य भने तय छ, समग्र नेपाली फुटबल इतिहासमा एउटा सर्वाधिक महत्त्वको खेल शनिबार हुँदै छ ।

