काठमाडौं । आलोपालो प्रधानमन्त्री बन्नेगरी सत्ता साझेदारी गरेका नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई काउन्टर दिने गरी नयाँ राजनीतिक ध्रुवीकरणको गृहकार्य सुरु भएको छ । सरकारका गलत कामको भण्डाफोर गर्न भनेर बन्न लागेको वाम–लोकतान्त्रिक समीकरणको उद्देश्य भने देउवा–ओली गठबन्धन टुटाएर नयाँ सरकार बनाउनु रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर नयाँ मोर्चाको कसरत भएको हो । पूर्वराष्ट्रपति विद्या भण्डारी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितको नयाँ पोल बन्न लागेको हो ।
यही समीकरणको प्रयासस्वरूप शेखर कोइरालाले बिहीवार प्रचण्डसँग लामो भेट गरेका थिए । कोइरालाले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि लामो छलफल गरेका छन् । शेखरले शुक्रवार बिहान विद्यासँग ९ देखि १० बजेसम्म एक घण्टा लामो वार्ता गरेका थिए । यी सबै मिटिङमा कांग्रेस पृष्ठभूमिका स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि सहभागी रहेको स्रोतको दाबी छ ।
वर्तमान सरकार राष्ट्रका समस्या समाधान गर्न असफल भएको निष्कर्षसहित नयाँ गठबन्धनको प्रयास भएको हो । यस्तै, प्रयासबाट २ वर्षअघि कोशी प्रदेशमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री बनेका थिए । सरकार नै गठन गर्ने लक्ष्य राखे पनि तत्काललाई नयाँ राजनीतिक समीकरणले सरकारका गलत कामको पर्दाफास गर्ने र उस्तै परे सडकमा आन्दोलन गर्नेसम्मको रणनीति बनाउने स्रोतको दाबी छ ।
सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीलाई रोक्न एमाले सचिवालय बैठकले निर्णय गरेको पृष्ठभूमिमा नयाँ राजनीतिक समीकरणको प्रयास भएको हो । गठबन्धनमा भर्खरै सरकारलाई दिएको समर्थन फिर्ता गरेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई समावेश गराइने छ भने रास्वपालाई समेत समेट्ने प्रयास हुँदैछ । ‘राजावादी आन्दोलनमा सहभागी भएको राप्रपाबाहेक विपक्षमा रहेका सबैको नयाँ राजनीतिक समीकरणमा सहभागिता र समर्थन रहनेछ,’ समीकरण निर्माणमा लागेको विश्वस्त स्रोतले भनेको छ ।
ओली–देउवाबीच भएको ७ बुँदे सहमतिअनुसार बनेको सरकारले एक वर्ष पूरा गरेको छ । अर्को वर्ष देउवालाई सरकारको नेतृत्व दिनेगरी ओली र देउवाबीच सहमति भएको थियो । नयाँ समीकरणको प्रयास स्वरूप नेताहरूबीच बहुपक्षीय छलफल चलिरहेको स्रोतले बतायो । ‘सरकारको कार्यशैलीप्रति कांग्रेस–एमालेभित्र तीव्र असन्तुष्टि छ । ओलीले विश्वासको मत लिने अवस्थामा त्यो प्रकट हुन्छ,’ स्रोतले भन्यो ।
नयाँ समीकरणको पृष्ठभूमि बनिरहेको समयमा प्रचण्डले असार ३० गते संसदमा सरकारको कामको भण्डाफोर गरेका थिए । सरकारप्रति आक्रामक भाषण गरेका प्रचण्डले ओलीले जहाँ टेक्यो त्यहाँ भ्रष्टाचार हुने गरेको आरोप लगाएका थिए । नयाँ समीकरणको गृहकार्यबारे नेपाली कांग्रेसका एक प्रभावशाली नेताले भित्रभित्रै केही भइरहेको संकेत गरे ।
‘यस्तै ढंगले ०८४ सम्म जान कठिन छ, त्यसैले विभिन्न विकल्पमा छलफल चलिरहेका छन् । त्यसले मूर्तरूप लिन बाँकी छ,’ ती नेताले ।
नयाँ मोर्चा बने अहिले सरकारमा सहभागी भएको लोसपासहित मधेश केन्द्रित सबै दलको समर्थन रहने स्रोतले बतायो ।
प्रचण्ड र विद्यासँगको भेटमा शेखरले समसामयिक विषयमा कुरा गरेका थिए । सरकार गठनदेखि नै कोइराला असन्तुष्ट छन् ।
हालै बसेको केन्द्रीय समिति बैठकमा शेखरले एमालेसँगको ७ बुँदे सहमतिको औचित्यमाथि प्रश्न उठाएका थिए ।
ओली सरकार विस्थापनका लागि प्रयास भइरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको एमाले सचिव रघुवीर महासेठले केही दिनअघि आरोप लगाएका थिए ।
नयाँ समीकरण निर्माणको प्रयासबाट कोही पनि ब्याक नहट्ने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
‘जोखिम मोलेरै विद्या सक्रिय राजनीतिमा आउनुभएको हो, पार्टी कमिटीले निषेध गर्न खोजे पनि उहाँ ब्याक हुनुहुन्न’ स्रोतले लोकान्तरसँग भन्यो ।
असार १४ गते सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारी त्यसयता विभिन्न कार्यक्रममा सहभागी भइसकेकी छिन् । उनले राजनीतिक भेटवार्तालाई पनि तीव्रता दिएकी छिन् ।

