२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

प्रधानमन्त्रीले ४ जेनजी प्रतिनिधिलाई लिएर मन्त्रिपरिषद् विस्तार गर्दै, नयाँ मन्त्री को-को हुन् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबारसम्म शपथग्रहण गराउने गरी चार जना नयाँ मन्त्री नियुक्त हुने पक्का भएको छ।

जेनजीहरूको तर्फबाट मन्त्री बन्ने तय भएकाहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन्। श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्तालाई युवा तथा खेलकुद, रामलाई स्वास्थ्य तथा जनसंख्या र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।

श्रेष्ठ सम्पदा संरक्षण अभियान्ता हुन् भने गुप्ताले कोभिडकालमा नि:शुल्क खाना अभियान र कपडा बैंक सञ्चालन गरेका थिए। राम रौतहटको चमार समुदायबाट पहिलो डाक्टर बनेका हुन्। टासी भने जलवायु परिवर्तनका मुद्दामा पैरवी गर्ने हुम्लाकी युवा हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार टासीको नाममा अझै अन्तिम छलफल भइरहेको छ। साथै, जेनजी आन्दोलनमा सक्रिय अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा समेट्ने तयारी पनि भएको छ।

गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्की अहिले ८ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गर्दैछिन्।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस