२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

कोशी आधारभूत विद्यालयमा अपाङ्गमैत्री भवन समुद्घाटन

अब बालबालिकाले पाउनेछन् सुरक्षित र गुणस्तरीय शैक्षिक वातावरण

इटहरी / सुनसरी। सुनसरीको बर्जु गाउँपालिका–५ स्थित कोशी आधारभूत विद्यालयमा नवनिर्मित अपाङ्गमैत्री भवन औपचारिक रूपमा समुद्घाटन गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा पूर्वमन्त्री भगवती चौधरी र अन्तर्राष्ट्रिय संस्था चाइल्ड रेस्क्यू नेपालका कार्यकारी निर्देशक जो वेगाले २ कोठे अपाङ्गमैत्री विद्यालय भवन, बालमैत्री शौचालय तथा स्वच्छ खानेपानी सुविधाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो।

श्री साथी नेपालको साझेदारीमा निर्माण गरिएको निर्माणाधीन संरचनामा इसिडी कक्षा र डिजिटल बोर्डसहितका दुई कक्षाकोठा रहेका छन्। यसअघि खुला आकाशमुनि पठन–पाठन गर्दै आएका बालबालिकाहरू अब सुरक्षित, व्यवस्थित र आधुनिक कक्षाकोठाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। विद्यालय निर्माणका लागि पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको विशेष पहल रहेको विद्यालयका कार्यक्रम संयोजक भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएकी पूर्वमन्त्री चौधरीले बालबालिकालाई सानै उमेरदेखि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका भौतिक पूर्वाधार अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। घाम–पानी र हावाहुरीबाट जोगिन कठिन परिस्थितिमा अध्ययन गर्दै आएका बालबालिकाहरूले अब सहज वातावरण पाउने हुँदा दातृ निकाय तथा सहयोगी संस्थाप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो। कार्यक्रम मा बोल्दै पुर्व मन्त्री चौधरीले भन्नु भयो : “बालबालिकालाई सानै उमेरदेखि सिकाइका लागि सुरक्षित, स्वच्छ र गुणस्तरीय वातावरण आवश्यक हुन्छ। आज यहाँ अपाङ्गमैत्री भवन, बालमैत्री शौचालय र स्वच्छ खानेपानी सुविधाको उद्घाटनसँगै विद्यालयको शैक्षिक स्तर अझ बलियो हुनेछ भन्ने विश्वास लिएको छु। विगतमा कठिन परिस्थितिमा अध्ययन गर्न बाध्य भएका बालबालिकाले अब सहज र सुरक्षित कक्षाकोठामा सिक्ने अवसर पाउने भएका छन्। यस सद्भावपूर्ण कार्यमा साथ दिनु भएका सबै दातृ निकाय, सहयोगी संस्था तथा स्थानीय सरोकारवालाप्रति हृदयदेखि आभार व्यक्त गर्दछु।”

उद्घाटन समारोहमा बर्जु गाउँपालिकाका प्रमुख जिवछ राय, चाइल्ड रेस्क्यू नेपालका प्रतिनिधि डा. जोन, कन्ट्री डायरेक्टर भाष्कर कार्कीसहित अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई भव्यता प्रदान गर्न तथा विद्यालय भवन निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावप्रति आयोजक पक्षले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस