२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

परिवर्तन एक अभियानको पहिलो वार्षिक साधारण सभा सम्पन्न

सामाजिक रुपान्तरणका लागि समर्पित संस्थाले प्रस्तुत गर्‍यो उपलब्धिपूर्ण प्रतिवेदन

इटहरी, २०८२ कात्तिक २२। सामाजिक रुपान्तरण र सेवाभावमा समर्पित संस्था ‘परिवर्तन एक अभियान’ इटहरी–७, सुनसरी को पहिलो वार्षिक साधारण सभा संस्थाको कार्यालय परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।

सभाको अध्यक्षता संस्थाका अध्यक्ष तेजप्रसाद घिमिरे (निश्चल) ले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि, मञ्चासीन अतिथि, सल्लाहकार, पदाधिकारी, विभिन्न उप–समितिका सदस्य तथा स्थानीय सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना देखिका सामाजिक कार्यहरू, उपलब्धिहरू र आगामी योजनाबारे विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँले संस्था स्थापना भएको सन् २०८० जेठ २२ गतेदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, सामाजिक सद्भाव र जनचेतनामूलक अभियानमा निरन्तर अग्रसर रहँदै आएको बताउनुभयो।

गत वर्षका प्रमुख गतिविधिहरूमा विद्यालय तथा मन्दिर सरसफाइ, वृक्षारोपण, लागुऔषध दुर्व्यसन नियन्त्रण सचेतना कार्यक्रम, समावेशी तीज मिलन कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, र सामाजिक राहत कार्यक्रमहरू उल्लेखनीय रहेका छन्। साथै आगलागी, विपन्न परिवार र दीर्घरोगीहरूलाई सहयोग प्रदान गर्ने कार्यमा पनि संस्थाको उल्लेखनीय भूमिका रह्यो।

त्यसैगरी संस्थाले सामाजिक, शैक्षिक, स्वास्थ्य र धार्मिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय गरेको छ।
सम्मानितहरूमा —

सामाजिक क्षेत्र : नेत्रबहादुर खड्का, शिवप्रसाद भट्टराई (भूपाल)
शैक्षिक क्षेत्र : डिककुमार तामाङ (सेक्रेट हार्ट इङ्गलिस स्कुल परिवार)
स्वास्थ्य क्षेत्र : रामकुमारी बि.क.
धार्मिक क्षेत्र : हेमनारायण चौधरी
उत्कृष्ट सदस्य : रम्भा कोइराला, रोशन कार्की,
बिधान लेखन समितिका संयोजक : गोविन्द खवास

र महिला फुटबल टिमका सदस्यहरूलाई पनि विशेष सम्मान गरिएको छ।


अध्यक्ष घिमिरेले आगामी वर्षका लागि सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने, विपद् व्यवस्थापन समिति गठन गर्ने, जुनियर परिवर्तन टिम स्थापना गर्ने, र सामाजिक विभेद अन्त्यका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्ने योजनाहरू सार्वजनिक गर्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष घिमिरेले सम्पूर्ण सदस्य, दाता, स्थानीय निकाय र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षमा “अझ सशक्त र परिणाममुखी सामाजिक अभियानका साथ अघि बढ्ने” प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी तेज प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
अध्यक्ष तेज प्रसाद घिमिरे
उपाध्यक्ष इन्दिरा गिरी
उपाध्यक्ष सन्तोष महतो
सचिव बसन्त पोख्रेल
सह सचिव दिनेश गुरागाईं
सह सचिव प्रवत श्रेष्ठ
कोषाध्यक्ष कृतीका राइ
सहित ११ सदस्यीय समिति गठन गरेको छ।

परिवर्तन एक अभियान इटहरी–७, सुनसरीमा स्थापित एक गैर–नाफामूलक सामाजिक संस्था हो, जसको स्थापना सन् २०८० साल जेठ २२ गते भएको हो। संस्थाको मुख्य उद्देश्य समाजमा सकारात्मक रुपान्तरण, सेवा भावना, र सामाजिक सद्भाव स्थापित गर्नु हो।

संस्थाले आफ्नो सुरुवातदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, महिला सशक्तिकरण, धार्मिक तथा सांस्कृतिक संरक्षण र जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै आएको छ।

संस्था विभिन्न विद्यालय, सामाजिक सङ्घ–संस्था, स्थानीय निकाय र समुदायसँग सहकार्य गर्दै वृक्षारोपण, सरसफाइ, रक्तदान, स्वास्थ्य शिविर, समावेशी तीज मिलन कार्यक्रम, सामाजिक सहयोग र राहत वितरण जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ।

संस्थाको नेतृत्वमा समाजसेवी तेजप्रसाद घिमिरे (निश्चल) रहेका छन्। “साना प्रयासले ठूलो परिवर्तन सम्भव छ” भन्ने मूल मन्त्रका साथ संस्था इटहरी–७ लाई स्वच्छ, सचेत र समावेशी समाजको नमूना समुदाय बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस