२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

घरबाट निस्कँदा देखिने यी ४ संकेत अत्यन्तै शुभ मानिन्छन् — सुरु हुन्छ अति राम्रो समय

Shakun Shastra Good And Bad Signs

धार्मिक ब्यूरो । शकुन शास्त्रअनुसार घरबाट बाहिर निस्कँदा केही संकेतहरु देखिए भने राम्रो हुनेछ । हाम्रा ठूला–बुढाहरूले घरबाट बाहिर निस्कँदा केही शुभ कार्य गर्न र अशुभ कुराबाट बच्न सल्लाह दिने गर्छन्। कारण त्यही शास्त्रमा उल्लेख हो । जीवनमा यस्ता संकेतहरूको महत्व गहिरो हुन्छ। घरबाट निस्कँदा हुने केही अचम्मका घटनाहरूले तपाईंको काममा सकारात्मक वा नकारात्मक असर पार्न सक्छ। अब जानौं ती संकेतहरूबारे

१, हाच्छिउँ आउनु
वास्तु शास्त्रअनुसार घरबाट निस्कँदा हाच्छिउँ आउनु अशुभ मानिन्छ। तर यो सधैं अशुभ हुन्छ भन्ने छैन। यदि बिरामी नभइकन हाच्छिउँ आए, विशेषगरी दुई वा दुईभन्दा बढी हाच्छिउँ आए भने यो शुभ कार्यको संकेत मानिन्छ। आकस्मिक रूपमा एक हाच्छिउँ मात्र आएमा काम बिग्रन सक्छ। यस्तो भएमा दुई मिनेट पर्खिएर मात्र बाहिर निस्कनु उपयुक्त हुन्छ।

२, वस्तुहरू देखिनु
घरबाट निस्कँदा देखिने वस्तुहरूले तपाईंको कार्यको परिणाम संकेत गर्छन्। यदि पानको पात, माछा, हात्ती वा कुनै शव यात्रा देखियो भने यो शुभ संकेत मानिन्छन्। तर दूध, खाली भाँडा वा फोहोर देखियो भने असफलताको सूचक मानिन्छ। रित्तो गाग्री देखियो भने केही समय पर्खिएर मात्र हिड्नु भनेर ठूला बुढाहरुले भन्ने गर्नुको कारण यही हो । यदि फूल देखियो भने कुनै मांगलिक कार्यको संकेत हो।
यदि अशुभ वस्तु देखियो भने तुरुन्तै आफ्नो इष्टदेवको नाम लिनुहोस् वा शिव शिव भन्नुहोस्।

३, बाटोमा धन भेटिनु
यदि बाटोमा पैसा भेटियो भने यसको विशेष अर्थ हुन्छ। सिक्का भेटिएमा काममा ढिलाइको संकेत हुन्छ। नोट भेटिएमा रोकिएको काम बन्ने संकेत हो। यदि सिक्का र नोट दुवै भेटिए भने काममा कसैको सहयोगबाट सफलता मिल्ने संकेत हो। यदि भेटिएको धन शुभ संकेत नदिएको अनुभव भयो भने त्यसलाई मन्दिरमा वा गरिबलाई दान गर्नु उपयुक्त हुन्छ।

४, आकस्मिक घटना घट्नु
घरबाट निस्कँदा उडिरहेका चराले फोहोर गरे भने आर्थिक लाभको संकेत हो। तर यदि सडकमा हिँड्दा खुट्टा हिलो वा गोबरमा पर्‍यो भने समस्या आउने संकेत हो। यदि घरबाट निस्कँदा भिखारी देखियो भने उसलाई केही दान दिनुहोस् — यसले तपाईंको ऋण समाप्त हुने विश्वास गरिन्छ। घरबाट निस्केपछि कलम वा रुमाल बिर्सनु भयो भने कार्यालयमा कसैसँग विवाद हुने संकेत मानिन्छ। यसैले लिन फर्किनु भन्दा मागेर चलाउनु राम्रो ।

 

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस