काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ । निलम्बनसँगै उनको नाम संस्थाको वेबसाइटबाट समेत हटाइएको ट्रान्सपरेन्सी स्रोतले जानकारी दिएको छ ।
जानकारी अनुसार महान्यायाधिवक्ता भएपछि भण्डारी विभिन्न विवादमा तानिए पनि उनले राजीनामा नदिएकाले संस्थाले यस्तो निर्णय लिन बाध्य भएको हो । त्यसै कारण उनको नाम वेबसाइटको रेकर्डबाटै हटाइएको जनाइएको छ ।
महान्यायाधिवक्ता नियुक्त भएपछि भण्डारीले पदमा रहँदासम्मका लागि सदस्यता स्थगन गर्न निवेदन दिएकी थिइन् । तर विवाद चर्किँदै गएपछि ट्रान्सपरेन्सी इन्टरनेसनलले उनलाई राजीनामा दिन आग्रह गरेको थियो ।
तर विवादित अवस्थामा पनि पदमै बसेपछि सदस्यता स्थगन नभई निलम्बन गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका सीईओ आशिष थापाले जानकारी दिए । उनका अनुसार हाल भण्डारीलाई निलम्बन गरिएको छ र उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत विचाराधीन रहेका कारण यस्तो निर्णय गरिएको हो ।

