२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

पश्चिम एसिया तनाव बढ्दै जाँदा एकै दिन १६ हजार नेपालीले अनलाइन विवरण भरे

प्रकाश काफ्ले/काठमाडौं । पश्चिम एसियामा विकसित हुँदै गएको असुरक्षाको अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाबारे चासो बढेको छ। यसैबीच सरकारले सुरु गरेको अनलाइन दर्ता प्रणालीमा पहिलो दिनमै करिब १६ हजार नेपालीले आफ्नो विवरण  भरेका छन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मंगलबारदेखि विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याउँदै पश्चिम एसियामा रहेका नेपालीलाई आफ्नो नाम, ठेगाना र सम्पर्क विवरण दर्ता गर्न आह्वान गरेको थियो। मन्त्रालयका अनुसार प्रणाली सुरु भएको २४ घण्टाभित्रै उल्लेखनीय संख्यामा दर्ता भएको हो।

मन्त्रालयले जारी गरेको सूचनामा दर्ता प्रक्रिया अझ सरल र पहुँचयोग्य बनाउने तयारी भइरहेको उल्लेख गरिएको छ। त्यहाँस्थित नेपाली दूतावास तथा नियोगहरूलाई स्थानीय नेपाली समुदाय, संघ–संस्था र गैरआवासीय नेपाली संघसँग समन्वय गरी सूचनाको प्रभावकारी प्रसार गर्न निर्देशन दिइएको छ। संकलित विवरणका आधारमा आवश्यक परेमा उद्धार, सहायता वा अन्य सहयोगको प्राथमिकता तय गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायल, अमेरिका र इरानबीच जारी हवाई आक्रमण तथा प्रतिआक्रमणले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी मिसाइल प्रहार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पश्चिम एसियामा करिब १७ लाख नेपाली विभिन्न मुलुकमा रोजगारी तथा व्यवसायका सिलसिलामा रहेको अनुमान छ। विकसित परिस्थितिले उनीहरूको सुरक्षालाई लिएर चिन्ता बढाएको छ।

सरकारले अवस्थाको निगरानी र समन्वयका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम (ERT)’ गठन गरेको छ। आज बसेको ERT बैठकले आवश्यक तयारी र सम्भावित कदमबारे छलफल गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस