२०८३ भाद्र ४ गते बिहिवार | 2026 August 20th Thursday

मत्स्यपालन आधुनिकीकरणका लागि सरोकारवालाबीच सहकार्यमा जोड

विराटनगर । कोशी प्रदेशमा मत्स्यपालन क्षेत्रलाई आधुनिक, व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले सरोकारवालाबीच समन्वय तथा अन्तरक्रियात्मक कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

विराटनगरस्थित होटल स्वागतममा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कृषि शाखाका प्रतिनिधि, माछा उत्पादक किसान, व्यवसायी, बिक्री–वितरणकर्ता तथा उपभोक्ता क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को आयोजना तथा USDA र Lutheran World Relief को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा मत्स्यपालन क्षेत्रको वर्तमान अवस्था, उत्पादनमा देखिएका समस्या, बजार व्यवस्थापन, बिक्री–वितरण प्रणाली, उपभोक्ताको माग तथा आधुनिक प्रविधिको प्रयोगका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले माछा उत्पादन बढाउन तथा किसानलाई व्यवसायिक रूपमा स्थापित गर्न स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा कार्यकारी निर्देशक द्रव्यराज चौधरीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय प्रमुख मनोजकुमार यादव, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का माछा वैज्ञानिक प्रेम तिम्सिना, अभिलाषा झा, Lutheran World Relief का प्रतिनिधि संजीव विश्वकर्मा, रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आसनारायण चौधरीलगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूले कार्यक्रममा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व महिला, बालबालिका मन्त्री भगवती चौधरीले मत्स्यपालनलाई कृषिको महत्वपूर्ण व्यावसायिक क्षेत्रका रूपमा विकास गर्न किसान, स्थानीय सरकार, निजी क्षेत्र र सहयोगी संस्थाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले उत्पादनसँगै बजार सुनिश्चितता, प्रविधिको पहुँच र किसानको आयआर्जन वृद्धि हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

ग्रामीण महिला उत्सुकता विकास मञ्चकी अध्यक्ष राजकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले मत्स्यपालन क्षेत्रमा विद्यमान चुनौती पहिचान गर्दै उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, बजार विस्तार तथा किसानको आर्थिक अवस्था सुधारका लागि आवश्यक पहलका विषयमा सुझाव दिएका थिए।

अन्तरक्रियात्मक कार्यक्रमले कोशी प्रदेशमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि किसानदेखि बजारसम्म जोडिएका सबै पक्षबीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस