२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनीपछि बस्ती खाली

काठमाडौं – इन्डोनेसियाको फ्लोरेस टापुमा शुक्रबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ४:५८ बजे १५ किलोमिटर गहिराइमा आएको भूकम्पको केन्द्रबिन्दु नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्रमा रहेको थियो।

भूकम्पपछि सुनामी चेतावनी जारी गर्दै पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय बस्तीहरू खाली गराइएको छ। सम्भावित छालको उचाइ ०.५ देखि ३ मिटरसम्म हुन सक्ने अनुमान गरिएको थियो।

सयौं मानिस सुरक्षित स्थानतर्फ सारिएका छन् भने केही भवनमा क्षति पुगेको र परकम्प महसुस भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पछिल्लो विवरणअनुसार कम्तीमा दुई जनाको मृत्यु र केही घाइते भएका छन्।

प्रारम्भिक चेतावनीपछि समुद्र सतहमा ठूलो परिवर्तन नदेखिएपछि सुनामी चेतावनी हटाइएको छ। फ्लोरेस क्षेत्र भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ, जहाँ सन् १९९२ मा यस्तै शक्तिशाली भूकम्पपछि आएको सुनामीले ठूलो जनधनको क्षति गरेको थियो।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस