२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

फिल्म आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाएर नेपाली छोरी नबनाए बोर्डले सेन्सर पास नदिने

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपराह्न फिल्मको सेन्सर कार्य भएको थियो । सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बिप) बनाई वा नेपाली बनाएर पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनका लागि अनुमति दिने निर्णय गरियो ।’

अब यो फिल्म प्रदर्शन गर्न उक्त संवाद हटाएर पुनः सेन्सर बोर्डमा पेस गर्नुपर्ने भएको छ । संवाद हटाएर पेस गरेपछि मात्र फिल्मले प्रदर्शनका लागि अनुमति पत्र प्राप्त गर्नेछ । शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस