२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

बबई र नारायणी नदीमा पानीको सतह बढेर सतर्कता तह पार

काठमाडौं । बबई र नारायणी नदीमा पानीको सतह सतर्कता तहमा पुगेको छ। जलाधार क्षेत्रमा अविरल वर्षाका कारण नदीमा पानीको सतह बढेको हो। बर्दिया जिल्लाको भाडा पुलको जलमापन केन्द्रमा बबई नदीको जलसतह ७.४ मिटर रहेको छ। उक्त मापन केन्द्रमा पानीको सतह ७ मिटर पुग्नुलाई सतर्कता तह मानिन्छ।

बबई पानीको सतह ८ मिटर पुग्नुलाई खतराको तह मानिन्छ। सोमबार बिहान ६ः४७ बजेसम्मको अपडेटअनुसार बबई नदीमा पानीको बहाव स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बबई नदीको जलाधार क्षेत्र रहेको बर्दियाको रम्भापुरमा अहिले भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रम्भापुर क्षेत्रमा पछिल्लो २४ घण्टामा १७१.४ मिलिमिटर वर्षा भएको छ।

यस्तै, नारायणी नदीमा पनि पानीको सतह सतर्कता तह पार गरेको छ। नारायणी पुलमा रहेको मापन केन्द्रमा पानीको सतह ११.०४ मिटर पुगेको छ। उक्त मापन केन्द्रमा पानीको सतह ११ मिटर पुग्नुलाई सतर्कता तह मानिन्छ। नारायणी नदीकै देवघाटमा पनि पानीको सतह सतर्कता तह पार गरेको छ। देबघाट मापन केन्द्रमा पानीको सतह ७.५७ मिटर पुगेको छ। बिहान ६ः४७ बजेको अपडेटअनुसार नारायणी नदीमा पानीको बहाव कम हुँदै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस