२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अभिनेता अनमोल केसी पक्राउ

१२ असोज, काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले आपराधिक विश्वासघात गरेको आरोपमा साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको रेग्मीले जानकारी दिए । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन’, एसएसपी राठौरले भने, ‘त्यसपछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएका हौं ।’ केसीले फिल्म नखेल्ने भनेर लगानी धरापमा परेपछि दशैंको मुखमा ६५ जना प्राविधिक समेत अलपत्र परेको राठौरले बताए ।

 

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस