२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बाला चतुर्दशी पर्वमा पशुपतिमा बत्ती बाल्न दुई हजार १ सय शुल्क लाग्ने

काठमाडौंं । बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० का दरले शुल्क लिने भएको छ।

राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। यो व्यवस्था रुद्रगाडेश्वरमा गरिएको छ। उनका अनुसार आफैँ बत्ती कुरेर बस्नेले भने कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

‘बत्ती बालेर आफू कुर्न नसक्नेका लागि शुल्क लिएर कोषका कर्मचारीले कुर्ने व्यवस्था गरेका हौँ’, उनले भने, ‘विदेशमा रहेका व्यक्तिका लागि पनि बढी उपयोगी हुने ठानेर यो व्यवस्था गरेका हौँ।’ यो शुल्क बत्ती, पाला, तेल, संकल्प गराउने र कुर्ने व्यक्तिका लागि खर्च हुने उनले बताए।

बत्ती बाल्ने प्रयोजनका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराउने व्यवस्था मिलाएको कोषले जनाएको छ।

यसैगरी यो वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध गरेको छ। विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउनेहरूलाई असहज भएपछि यो वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ। भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस