काठमाडौं । अमेरिकाले नेपाललाई दिँदै आएको करिब डेढ खर्ब रुपैयाँको सहयोग ९० दिनका लागि रोकेपछि आगामी बजेटमा प्रभाव पर्ने देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशबमोजिम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र युएसएडबाट सञ्चालित परियोजनाहरू रोकिएका छन्। यो सहयोग रोकिँदा नागरिकको दैनिक जीवनमा समेत असर पुगेको छ । काठमाडौंका सुविधा सम्पन्न र महंगो भाडामा लागेका घरहरु खाली हुन थालेका छन् । ठूला होटलहरुपनि सुनशान हुन थालेका छन् । यसले अर्थतन्त्रमा हाहाकारको अवस्था ल्याइसकेको छ ।
एमसिसीबाट ५५ करोड डलर र युएसएडबाट ६६ करोड डलरको सहयोग रोकिएको छ। यसले विद्युतीय प्रसारण लाइन, सडक निर्माण, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रका परियोजनाहरू प्रभावित भएका छन्। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले सहयोग रोकिएपछि बजेटमा असर पर्ने बताए।
यसैबीच, युएसएडले आफ्ना करिब २,००० कर्मचारीलाई प्रशासकीय बिदामा पठाउने निर्णय गरेको छ। यसले सहयोग कार्यक्रमहरू अझ प्रभावित हुने देखिन्छ। नेपालका दुरदराजमा समेत त्यस्ता कर्मचारी र त्यस्ता कोषबाट खर्च भइरहेको थियो । अब गाउँमा समेत पैसा अभाव हुने देखिन्छ । नेपालले आगामी आर्थिक वर्षको लागि १९ खर्ब रुपैयाँ बजेट सिलिङ तोकेको छ, जसमा वैदेशिक अनुदान र ऋणको ठूलो भार रहेको छ। अमेरिकी सहयोग रोकिँदा बजेटको स्रोत अभाव हुने आशंका व्यक्त गरिएको छ। बजेट नै घट्ने निश्चित प्रायः छ ।

