२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

५२ लाखको लेनदेन विवादमा धुर्मुस-सुन्तलीविरुद्ध मुद्दा

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा लेनदेन मुद्दा दायर गरेको छ।

कम्पनीका अनुसार, धुर्मुस–सुन्तली फाउन्डेसनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पटक–पटक छड लिएको तर ५२ लाख २ हजार ५५५ रुपैयाँ भुक्तानी नगरिएको भन्दै मुद्दा दायर गरिएको हो।

रंगशाला निर्माणमा समस्या
२०७५ माघमा चितवनमा रंगशाला निर्माण अभियान थालेका धुर्मुस–सुन्तलीले चन्दा संकलनमार्फत काम अघि बढाएका थिए। तर, कोरोना महामारीपछि आर्थिक संकट बढेपछि उनीहरू परियोजनाबाट पछि हटे। २०७८ माघ २० गते भरतपुर महानगरपालिकाले रंगशालाको स्वामित्व लिए पनि १३६ कम्पनीलाई तिर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ अझै बाँकी रहेको छ।

धुर्मुसको गुनासो
कट्टेलका अनुसार, महानगरले स्वामित्व लिए पनि ऋण भुक्तानी गर्न नसक्दा उनले नै बोझ व्यहोर्नुपरेको छ। उनले सरकारसँग निरन्तर ऋण भुक्तानीको माग गर्दै सिंहदरबार धाइरहेको बताए।

२०७९ चैतमा सरकारले रंगशालाको स्वामित्व लिई निर्माण अघि बढाउने निर्णय गरेको थियो। हाल हिमालयन कालिञ्चोक बीबीआर जेभीले निर्माणको जिम्मा लिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस