२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

कतारमा हवाई हमला गर्नुअघि इरानले दिएको थियो पूर्वजानकारी

काठमाडौं । कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको पाइएको छ । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले तीन इरानी अधिकारीहरुलाई उदृत गर्दै हमला गर्नुअघि सूचना दिइएको लेखेको छ ।

‘यसले मानवीय क्षति कम गर्न र सबै पक्षलाई पछि हट्ने मौका दिन सहयोग पुर्‍याउने उद्देश्य राखेको इरानका तिन अधिकारीहरुले भनेका छन्’, समाचारमा भनिएको छ, ‘अधिकारीहरूले यो रणनीति सन् २०२० मा पनि अपनाइएको जिकिर गरेका छन्, जतिबेला अमेरिकाले इरानका शीर्ष जनरलको हत्या गरेपछि इरानले इराकस्थित अमेरिकी अड्डामा मिसाइल प्रहार गर्नु अघि पनि चेतावनी दिएको थियो ।’

एक जना इजरायली अधिकारीले पनि इरानले हमला पूर्व सूचना दिएको पुष्टि गरे तापनि कुन माध्यमबाट र कसलाई दिइएको थियो भन्ने नखुलाएको भनिएको छ । त्यही सूचनाका आधारमा कतार पहिल्यै हवाई क्षेत्र बन्द गराएको हुनसक्ने भनिएको छ । यो आक्रमणले इरानसँगको तनाव अझ चर्किने र अमेरिका गहिरो रूपमा मुछिने सम्भावनाबारे चिन्ता बढाएको न्यूयोर्क टाइम्सले लेखेको छ ।

त्यही सूचनाकै आधारमा अमेरिका र बेलायतले कतारमा आक्रमणको सम्भावनाबारे चेतावनी दिँदै त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न भनेका थिए । त्यसपछि कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको थियो । पछि युएईले पनि हवाई मार्ग बन्द गर्‍यो। यसले दोहा र दुबईबाट हुने उडानहरू प्रभावित भएका थिए ।

बेलायती अखबार द गार्डियनले अमेरिकाले पनि इरानले कतारस्थित अल उदीद सैन्य अड्डामा आक्रमण गर्नु अघि पूर्वसूचना दिएको पुष्टि गरेको भनेको छ । अमेरिकी रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै गार्डियनले समाचारमा भनेको छ, ‘एकजना अमेरिकी अधिकारीका अनुसार, इरानले मध्यम दूरिका ब्यालिस्टिक मिसाइल प्रहार गर्नु अघि कतारी र अमेरिकी अधिकारीहरूलाई यसबारे जानकारी दिएको थियो ।’ यो आक्रमणमा अमेरिकी पक्षमा कुनै क्षतिको रिपोर्ट आएको छैन ।

समाचारमा इरानले अमेरिकी आक्रमणको बदलास्वरूप प्रतिक्रियात्मक तर सांकेतिक हमला गरेको भनिएको छ । इजरायल इरान तनाव चर्किरहेका बेला अमेरिकाले इरानमा सैन्य कारबाही गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । यस्तोमा पनि इजरायलले सोमबार तेहरानमाथि ठूलो हवाइ आक्रमण गर्‍यो र आउँदा केही दिनमा अझ धेरै हमला गर्ने चेतावनी दिएको थियो । कतारले आफ्ना वायु रक्षा प्रणालीमार्फत ती मिसाइलहरू अवरुद्ध गरिएको बताउँदै इरानी आक्रमणको कडा निन्दा गरेको छ ।

यो आक्रमणले इरानसँगको तनाव अझ चर्किने र अमेरिका गहिरो रूपमा मुछिने सम्भावनाबारे चिन्ता बढाएको न्यूयोर्क टाइम्सले लेखेको छ । अल उदीद बेस अमेरिकाको सेन्ट्रल कमाण्डको अड्डा हो र अमेरिकी आक्रमणपछि इरानी बदला आक्रमणको सम्भावित प्रमुख लक्ष्य मानिएको थियो ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस