काठमाडौं । जापान सरकारले विदेशी नागरिकका लागि लागू गर्दै आएको व्यवसाय व्यवस्थापक (Business Manager Visa) प्रणालीमा कडाइ गरेको छ। नयाँ संशोधित नियम अनुसार अब जापानमा कम्पनी खोल्न कम्तिमा ३ करोड येन पूँजी अनिवार्य हुनेछ।
जापानको कानुन मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले अक्टोबर १६ देखि नयाँ मापदण्ड लागू गरेको हो। यो नियमलाई सन् २०२८ सम्म परीक्षणकालका रूपमा लिइएको छ र त्यसपछि पूर्ण रूपमा लागू गरिनेछ।
नयाँ मापदण्ड अनुसार, कम्पनी सञ्चालन गर्नका लागि कम्तिमा एक जना पूर्णकालीन कर्मचारी नियुक्त गर्नुपर्नेछ। साथै, कम्पनीका सञ्चालक वा कर्मचारी मध्ये एक जनासँग जापानी भाषा क्षमता (JLPT N2) वा बिजनेस जापानिज प्रोफिसिएन्सी परीक्षामा ४०० अंक वा सोभन्दा बढी अंक हुनुपर्नेछ।
नियमले व्यवस्थापन वा प्रशासन विषयमा स्नातक वा स्नातकोत्तर डिग्री अनिवार्य गरेको छ, साथै तीन वर्षभन्दा बढीको व्यवस्थापन अनुभव हुनुपर्नेछ। साथै, अब घरको ठेगानाबाट व्यवसाय गर्न मिल्ने छैन — छुट्टै कार्यालय अनिवार्य हुनेछ।
भिसा नवीकरण गर्दा कर, सामाजिक र रोजगार बिमा लगायतका कानुनी दायित्व पूरा भएको प्रमाण पेश गर्नुपर्नेछ।
एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेका अनुसार जापानमा करिब ७ हजार नेपाली व्यवसायी छन्, जसमा ५ हजारजति रेस्टुरेन्ट व्यवसायमा छन्। उनले भने, “पूँजी रकम, भाषा, र बिमा सम्बन्धी कडाइले साना व्यवसायीहरूलाई चुनौती थपिएको छ।”
नेपाली व्यवसायी संघ जापानका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले भने, “यो नियमले व्यवसायलाई व्यवस्थित त बनाउनेछ, तर व्यवसाय खर्चिलो र जटिल हुनेछ। अब योग्य र दिगो योजनासहितका व्यवसायी मात्र टिक्न सक्नेछन्।”
जापानले सन् २००२ मा विदेशी लगानी आकर्षित गर्न भिसा प्रणाली खुकुलो बनाएको थियो, तर पछिल्लो समय भिसा दुरुपयोग बढेपछि सरकारले पुनः कडाइ गरेको हो।

