२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै, अङ्क तालिका सुधार गर्ने दाउ

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल २०२५ अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४:०० बजे सुरु हुनेछ । प्रतियोगितामा दुवै टोलीले मध्यम प्रदर्शन गरिरहेका छन् । अङ्क तालिका अनुसार, काठमाडौँ गोर्खाजले हालसम्म ३ खेल खेलेकोमा १ जित र २ हारसहित २ अङ्क जोडेको छ ।

यता लुम्बिनी लायन्सले भने २ खेलमा १ जित र १ हार व्यहोर्दै समान २ अङ्क बटुलेको छ । समान अङ्क भए पनि आजको खेल जित्दै दुवै टोली अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । काठमाडौं गोर्खाजको कप्तानी अलराउन्डर करण केसीले गरिरहेका छन् । पछिल्लो तथ्याङ्क हेर्दा करण केसी बलिङमा उत्कृष्ट लयमा देखिएका छन्। ब्याटिङतर्फ काठमाडौंका लागि जेरार्ड इरास्मस र भीम सार्की महत्त्वपूर्ण साबित हुन सक्छन् ।

अर्कोतर्फ, लुम्बिनी लायन्सका लागि रोहित पौडेल मुख्य हतियार हुनेछन्। पछिल्लो ९ खेलमा ४०.७८ को औसतले ३६७ रन बनाएका पौडेल ब्याटिङ र बलिङ दुवैमा टोलीका लागि महत्त्वपूर्ण छन् । साथै, सन्दीप जोरा र बलर अभिशेष गौतममाथि पनि लुम्बिनीको प्रदर्शन निर्भर रहनेछ।

यी दुई टोलीबीचको पछिल्लो भेट गत वर्ष भएको थियो, जसमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको थियो। काठमाडौं सोही नतिजा दोहोर्याउने पक्षमा हुनेछ भने लुम्बिनी बदला लिने दाउमा हुनेछ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस