काठमाडौं । भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद गतिविधिमा संलग्न दुई विदेशी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक छन्।
चिनियाँ नागरिक काठमाडौंको ठमेलस्थित होटलमा बस्दै आएका थिए। उनी सन् २०१२ देखि पटक–पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको र नेपालमा ६ वटा कम्पनी दर्ता गरेको पाइएको छ। तर ती कम्पनीमार्फत कुनै वास्तविक लगानी वा कारोबार नभएको अध्यागमनले जनाएको छ। पर्यटक र व्यावसायिक भिसामै बसेर पछिल्ला चार वर्षदेखि विभिन्न विद्यालयमा अध्यापन गरेको पनि खुलेको छ।
त्यस्तै अमेरिकी नागरिक सन् २०१७ मा नेपाल आएका र २०२० देखि निरन्तर नेपालमै बस्दै आएका छन्। उनले सिन्धुपाल्चोकमा कम्पनी दर्ता गरेको र ललितपुरको गोदावरीमा घर भाडामा लिएर गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उक्त बालगृहमा १२ जना बालिकालाई राखी क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराएको पाइएको अध्यागमनले जनाएको छ।
दुवै जना नेपालमा बस्नकै लागि पटक–पटक अध्ययन र व्यावसायिक भिसा लिएको देखिएको अध्यागमन विभागले जनाएको छ।

