२०८३ असार २४ गते बुधवार | 2026 July 8th Wednesday

शान्ति र लोकतन्त्रका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

प्रकाश काफ्ले/काठमाडौं । मुलुकमा १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति स्थापना गर्न निर्णायक भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस आज विविध कार्यक्रमका साथ मनाइँदैछ। वि.सं. २०६६ चैत ७ गते निधन हुनुभएका कोइरालालाई नेपाली राजनीतिका ‘शान्ति नायक’ र ‘सहमति एवं सहकार्यका सूत्रधार’का रूपमा स्मरण गरिन्छ।

कोइरालाले तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन र ऐतिहासिक विस्तृत शान्ति सम्झौता कार्यान्वयन गर्न अभिभावकीय भूमिका खेल्नुभएको थियो। पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्ध सात राजनीतिक दल र माओवादीलाई एकै ठाउँमा उभ्याएर २०६२/६३ को जनआन्दोलनको सफल नेतृत्व गर्ने श्रेय पनि उहाँलाई नै जान्छ। उहाँकै नेतृत्वमा २४० वर्ष लामो राजतन्त्रको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढेको थियो।

चार पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाले आफ्नो अन्तिम कार्यकालमा कार्यवाहक राष्ट्राध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँको योगदानको कदर गर्दै नेपाली कांग्रेस, यसका भ्रातृ संस्थाहरू र गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज देशभर विचार गोष्ठी, दीप प्रज्वलन तथा फलफूल वितरण जस्ता कार्यक्रम आयोजना गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस