२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

त्रिवि प्रश्नपत्र लीक प्रकरणमा संलग्नको नाम सिआइबीबाट सार्वजनिक

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबिएस प्रथम सत्रको प्रश्नपत्र लीक प्रकरणमा संलग्न व्यक्तिको नाम सार्वजनिक गरेको छ। सिआइबीका अनुसार कैलाली घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर मध्यथिमी–१ बस्ने ३३ वर्षीय सन्दीप सिंह प्रश्नपत्र लीकमा संलग्न रहेको पुष्टि भएको छ।

यसअघि प्रहरीले २–३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो तर उनीहरूको संलग्नता नदेखिएपछि छाडिएको थियो। साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेवियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको थियो। ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै प्रश्नपत्र पठाइएको थियो। केही मिनेटमै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले उक्त प्रश्नपत्र बाहिरिएको भन्दै त्रिविको ध्यानाकर्षण गराएको थियो। सो पेजले ह्वाट्सएप ग्रुपका स्क्रिनसटहरू समेत सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस