२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

नागढुंगा सुरूङमार्ग उद्घाटनअघि केपी ओलीको शिलालेख हटाइएपछि विवाद

काठमाडौं, साउन १० – नेपालकै पहिलो आधुनिक नागढुंगा सुरूङमार्ग सोमबार आपतकालीन सवारी साधन गुडाएर उद्घाटन हुँदैछ। तर उद्घाटनको पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्दा अनावरण गरेको शिलालेख हटाइएपछि विवाद चुलिएको छ।

आयोजनाका उप-निर्देशक सञ्जय पन्थीका अनुसार शिलालेख निर्माण कार्यमा बाधा पार्ने भएकाले यसअघि नै सडक विभागमा सुरक्षित राखिएको थियो। तर जेनजी आन्दोलन क्रममा विभागमा आगलागी हुँदा शिलालेख हराएको दाबी गरिएको छ। पन्थीले माथिल्लो निकायको दबाब अस्वीकार गर्दै ‘फेला परे उद्घाटन समारोहमा राखिने’ बताएका छन्।

यो सुरूङमार्ग सञ्चालनका लागि चिनियाँ जोइन्टभेन्चर कम्पनी युक्सिन–एआरटीले जिम्मा पाएको छ। सोमबारदेखि एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ। मोटरसाइकल, तीनपांग्रे, पेट्रोल–डिजेल–एलपी ग्यास बोकेका सवारी तथा पैदलयात्रीलाई प्रवेश दिइने छैन। अन्य योग्य सवारीलाई चरणवद्ध रूपमा प्रवेश दिइनेछ।

शुल्क व्यवस्था अनुसार कार, भ्यान, पिकअप, माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ, बाहिरिँदा ६० रूपैयाँ तिर्नुपर्नेछ। मिनी बस वा मिनी ट्रकले प्रवेश गर्दा ११५ रूपैयाँ, बाहिरिँदा ८० रूपैयाँ; बस वा ट्रक (सिंगल रियर एक्सल) ले प्रवेश गर्दा २६० रूपैयाँ, बाहिरिँदा २०० रूपैयाँ; मल्टी एक्सल ट्रकले प्रवेश गर्दा ६०० रूपैयाँ, बाहिरिँदा २५० रूपैयाँ तिर्नुपर्नेछ।

सुरूङमार्गले धादिङको सिस्नेखोला र काठमाडौं बलम्बुलाई जोड्नेछ। हाल ८ किलोमिटरको दुरी घटाएर ५ किलोमिटरमा ल्याइनेछ। यसले २.८ किलोमिटर दुरी घटाउने मात्र नभई पेट्रोलियम पदार्थको खपत बचत गर्ने र सवारी जाम समस्या हटाउने अपेक्षा गरिएको छ। सुरूङ प्रयोग गर्दा काठमाडौं प्रवेशमा ३३ मिनेट र बाहिरिँदा २३ मिनेट समय बचत हुने अनुमान छ।

आयोजनामा मुख्य सुरूङसँगै २,५५७ मिटर लम्बाइको उद्धार सुरूङ पनि तयार गरिएको छ। उद्धार सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न सक्ने व्यवस्था छ। मुख्य सुरूङ र उद्धार सुरूङबीच ७ वटा क्रस प्यासेज राखिएका छन्। यो आयोजना जापानको करिब २२ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब लगानीमा बनेको हो।

 

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस