काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अध्यक्षतामा २०८३ असोज ४ गते बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई फिर्ता बोलाउने ‘राइट टु रिकल’ कार्यान्वयनका लागि विशेष कार्यदल गठन गर्ने, अनुशासन आयोग र विभागहरूमा नयाँ सदस्य मनोनयन गर्ने, मन्त्री बिराजभक्त श्रेष्ठलाई सचिवालय सदस्यको शपथ दिलाउने तथा मधेस प्रदेश अधिवेशनमा देखिएका विवादबारे आन्तरिक अडिट रिपोर्टमा थप निर्णय लिनेगरी निर्णय भएको छ ।
साथै बैठकले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई थप ध्यानाकर्षण गराउने निर्णय गर्यो। बेपत्ता भएका ५ हजारभन्दा बढी नागरिकको अवस्थाबारे छिनोफानो गर्न डीएनए परीक्षण छिटो बढाउन माग गर्दै कानूनी अड्चन हटाई मृत्यु प्रमाणपत्र उपलब्ध गराउन सुझाव दिने निर्णय पनि भयो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमण र भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँगको भेटबारे बैठकलाई ब्रिफिङ दिए। अन्त्यमा सभापति लामिछानेले मन्त्री, सांसद र नेताहरूलाई जनसरोकारमा केन्द्रित रहन, आचरण सुधार गर्न र पार्टी–सरकार सम्बन्ध मजबुत बनाउन निर्देशन दिए।

