डिभि पिआर लिनेलाई सुको पनि दिईन्न : मन्त्री पण्डित

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार ७ चैत, २०७१

lalbabuजनबोली चैत ७, काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले डिभी तथा स्थायी बसोबास अनुमति पत्र (पिआर) लिएको खण्डमा उसलाई जनताको करबाट जाने एक पैसा पनि सुविधा नदिने उद्घोष गरेका छन् ।

सूचना तथा सञ्चार क्लव नेपालको सातौ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘दोहोरो नागरिकता र विवाद’ विषयक अन्तरक्रियामा उनले भने “दोहोरो नागरिकता सम्बन्धी विधेयक तयार हुदैँछ, संसदको अधिवेशन सुरु भएपछि यसले पूर्णता पाउनेछ, कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ ।”

मन्त्री पण्डितले २०५७ सालमै टुङ्गिएको दोहोरो नागरिकताको विषय पुनः चर्चाको विषय बनाईनु विडम्बना हो, भन्दै कुनैपनि नागरिक एक राष्ट्रको मात्र नागरिक हुनसक्ने उल्लेख गरे । उनले भने “केही पार्टीका नेताको राष्ट्रियताप्रतिको सोच नै छैन, मैले २०४८ सालदेखि यो विषयलाई उठाईरहेको छु केही नेताको सोच छ संसारका सबै देशको नागरिकता लिए पनि हुन्छ भन्ने मान्यता छ ।”

पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले दोहोरो नागरिकताको विषयले मुलुकको राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने खतरा औंल्याउदैँ यसको विवेकपूर्ण ढङ्गले समाधान खोजिनुपर्ने बताए । सभासद गीता राणाले दोहोरो सुविधा राज्यका कुनै नागरिकले पाउन नहुने धारणा राखिन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले दोहोरो नागरिकताले देशको राष्ट्रिय स्वार्थ एकआपसमा बाझिने संवेदनशील विषय भएकाले यो सिद्धान्त र व्यवहारिक रुपमा पनि एउटा नागरिक दुई देशको नागरिक हुन नसक्ने उल्लेख गरे ।

पर्यटन व्यवसायी दिपक महत, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले राज्यको उच्च ओहदाको पदमा रहेर विदेशी नागरिकता लिनु संवेदनशील विषय भएकाले दोहोरो नागरिकताको समस्या चाडो राज्यले समाधान गर्नुपर्नेमा जोड दिए ।

सूचना तथा सञ्चार क्लवका अध्यक्ष कृष्णानन्द भट्ट र महासचिव मुकुन्द ढुङ्गानाले जल्लावल्दा सामाजिक तथा आर्थिक विकासका विषयलाई क्लवले विभिन्न तहबाट प्रभावकारी छलफल र बहस चलाउने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका १४ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७