दलित समुदायलाई पार्टीले भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने : दलित नेताहरू

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ८ चैत, २०७१

dalit-pahichanजनबोली ८ चैत, काठमाडौं ।  विभिन्न राजनीतिक दलका दलित नेताहरूले दलित समुदायलाई राजनीतिक पार्टीले सधैँभरि निर्वाचनको समयमा भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको भन्दै गुनासो गरेका छन् ।

पचासौँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (२१ मार्च) को सन्दर्भमा विभिन्न राजनीतिक पार्टी निकट दलित भ्रातृ सङ्गठनद्वारा शनिबार आयोजित ‘५० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस तथा नेपाली दलित समस्याको अन्तरसम्बन्ध’ विषयक अन्तक्र्रियामा नेताहरूले मुलुक निर्माणका क्रममा पटक–पटक भएका आन्दोलन, जनयुद्धलगायतका सङ्घर्षमा अतुलनीय योगदान भए पनि अवसरबाट सधैँ वञ्चित हुने गरेको आरोप लगाए ।

एकीकृत नेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सदस्य चन्द्रबहादुर विश्वकर्माले हिन्दू वर्णाश्रमजन्य सामन्ती राज्यसत्ता नै दलित मुक्ति समस्याको मुख्य बाधक भएकोे भएको बताए ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले पछिल्लो पटक जातीय कारण देखाउँदै मुलुकका विभिन्न स्थानमा दलित समुदायमाथि आक्रमण हुँदासमेत सरकारले कुनै चासो नदेखाएको आरोप लगाए ।

वादी विकास बोर्डका उपाध्यक्ष पुष्प वादी, दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्मा, दलित नेता पदम विश्वकर्मा र बुद्धि नेपालीले दलित समुदायको मुक्तिका लागि दलित समुदाय एक्लैभन्दा पनि गैरदलितसँगै सङ्घर्ष गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबरहरु