होटल समिट समुहले राजधानीमा वल्र्ड क्लास बुटिक होटल बनाउने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ९ चैत, २०७१

hotel summit 3 जनबोली / चैत, काठमाडौं । मुलुकका प्रख्यात व्यवसायिक घराना सीजी, एनई र समिट समूहले राजधानीमा वल्र्ड क्लास बुटिक होटल सञ्चालन गर्ने भएका छन् । उनीहरुले खर्चालु पर्यटकलाई लक्षित गर्दै होटलमा ६ अर्ब लगानी गर्ने भएका हुन् ।

राजधानी काठमाडौ लगायत प्रमुख पर्यटकीय गन्तव्यमा लक्जरी बुटिक होटल सञ्चालन गर्ने गरी गत हप्ता यी तीन समूहबीच साझेदारी भएको छ । सीजी र एनई समूहले आर एण्ड आर हेरिटेज कम्पनीमार्फत समिट होटलको ६० प्रतिशत शेयर हिस्सा खरिद गरेका छन् ।

तीन समूहले पहिलो चरणमा कुपण्डोल हाइटस्थित समिट होटलको स्तरोन्नती गरी बेष्ट बुटिक होटल (बीबीएच) बनाउने भएका छन् । त्यसपछि कान्तिपथमा पाँचतारे ‘अर्बन हाइराइज बुटिक’ होटल र बिशंखुनारायणमा ‘इको रिसोर्ट’ निर्माण गर्ने समिट होटलका अध्यक्ष अमृतरत्न शाक्यले बताए ।

‘सबै होटलहरु ‘समिट’ ब्रान्डमै सञ्चालन हुनेछन्’ अध्यक्ष शाक्यले भने ‘तीनवटा होटलमा ५ देखि ६ अर्ब रुपैयाँ लगानी हुने हाम्रो अनुमान छ ।’ लक्जरी बुटिक होटलमा समिट ब्रान्डलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन तीन समूहबीच सहकार्य भएको उनको भनाई थियो ।

कान्तिपथस्थित १९०५ रेष्टुरेन्ट भएको ठाउँमा निर्माण गरिने बुटिक होटलमा ४ अर्ब र बिशंखुनारायणको इको रिसोर्टमा एक अर्ब रुपैयाँ लगानी गर्ने एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठले बताए ।

hotel summit 7

समिटको स्तरोन्नती

कुपण्डोलस्थित समिट होटलमा अहिले ८३ वटा कोठा छन् । यस होटलमा ६० देखि ८० वटासम्म कोठा थपेर वल्र्ड क्लास बुटिक होटल बनाउने बताइएको छ । सेमिनार हल र अन्तर्राष्ट्रिय स्तरको स्पा समेत सञ्चालनमा ल्याइने यस होटलको स्तरोन्नतीमा मात्र डेढ अर्ब लगानी हुने अनुमान सञ्चालकको छ ।

‘हामी समिट होटललाई विश्वकै उत्कृष्ट बुटिक होटलमा स्तरोन्नती गर्दैछौं’ अध्यक्ष शाक्यले भने ‘हाम्रो लक्ष्य मुलुकमा उच्चस्तरीय पर्यटक भित्राउने हो ।’ अहिले पनि यो होटलका रुमहरु प्रतिरात १२० यूरोमा बिक्री हुने गरेको छ ।

सञ्चालनमा रहेका पाँचतारे होटलले ४० डलरसम्म झरेर रुमहरु बिक्री गर्दै आएको बताउँदै श्रेष्ठले यसले मुलुकमा पर्यटन विकास सम्भव नभएको ठोकुवा गरे । समिटको भौतिक संरचना र यहाँको गुणस्तरीय सेवाकै कारण रुमहरु महंगोमा बिक्री गर्न सफल भएको उनको भनाई छ ।

मुलुकमा उच्चस्तरीय पर्यटकको संख्या बढाउन समिटसँग साझेदारी गरेको एनई समूहका अध्यक्ष श्रेष्ठले बताए । ‘अहिले ठमेलमा एक कप चियाको लागि पर्यटक बार्गेनिङ गरेको देखिन्छ’ उनले भने ‘यस्ता पर्यटकले मात्र हुँदैन, अबको हाम्रो ध्यान उच्चस्तरीय टुरिष्टमा केन्द्रित हुनुपर्छ ।’

दिल्लीमा झ्याल र एसी समेत नभएका रुमहरु ८ हजार भारुमा बेचिरहेको बताउँदै श्रेष्ठले नेपालमा भने पाँचतारे होटलका रुमहरु पनि ४ हजार रुपैयाँमा बेचिरहेको उल्लेख गरे ।

समिट होटल साढे १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । २ वर्षभित्रमा स्तरोन्नतीको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् १९७८ मा डच समूहले खोलेको समिट होटल २०१२ मा नेपाली व्यवसायीले आफ्नो स्वामित्वमा लिएका हुन् ।

hotel summit 4

कान्तिपथमा अर्बन हाइराइज बुटिक होटल

समिटको स्तरोन्नती पश्चात यो समूहले कान्तिपथमा अर्बन हाइराइज बुटिक होटल निर्माण गर्ने जनाएको छ । १६५ आना जग्गामा फैलिने बुटिक होटल १६ तले हुनेछ । नेपालमै फरक खालको होटल निर्माण गर्ने दाबी गर्दै शाक्यले विदेशी आर्किटेक्टबाट डिजाइनको काम अन्तिम चरणमा पुगेको बताए ।

यो होटल निर्माण गर्नका लागि करिव ४ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । होटलमा १२० वटा रुमहरु रहनेछन् । जहाँ खर्चालु पर्यटकको मात्र पहुँच रहनेछ ।

अहिले यसको छेवैमा गैरआवासिय नेपाली शेष घलेको लगानीमा १७ तले शेराटन होटल निर्माण भइरहेको छ । करिव ८ अर्ब रुपैयाँ लगानी हुने यो होटलले पनि गुणस्तरीय पर्यटक भित्राउन लक्ष्य राखेको छ ।

hotel summit 16

विशंखुनारायणमा इको रिसोर्ट

विशंखुनारायण डाँडामा रिसोर्ट सञ्चालन गर्नलाई समिटले २५ वर्ष अगाडि नै जग्गा खरिद गरेको थियो । त्यतिबेला ३ सय २० रोपनी जग्गा किनेर एक हजार रुखविरुवा लगाएर जंगल बनाएको शाक्यले जानकारी दिए ।

यहाँ निर्माण गरिने इको रिसोर्टको डिजाइनको काम सकिसकेको बताइएको छ । रिसोर्ट निर्माण कार्य छिट्टै सुरु गरेर दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

यो रिसोर्ट मुलुककै नमुना रिसोर्टका रुपमा सञ्चालनमा आउने छ । यहाँ निर्माण गरिने भौतिक संरचना बाँस, ढुंगा र माटोबाट बनाइने छ । साथै, उर्जाका लागि सौर्य र वायुशक्तिको प्रयोग गरिने, प्रदुषण रोक्न आधुनिक प्रविधि अपनाइने शाक्यले बताए ।

पछिल्लो समय विकास भएको फार्मिङ टुरिजम अवधारणा यो रिसोर्टमा लागू गर्ने लक्ष्य राखिएको छ । यहाँका किसानलाई कृषि उत्पादनमा लगाएर उत्पादित वस्तुहरु रिसोर्टमा खपत गर्ने शाक्यको भनाई छ । रिसोर्टमा आउने ग्राहकलाई अर्गानिक खाना खुवाउने लक्ष्य राखिएको छ ।

पोखरामा जग्गा खोजी

यो समूहले पोखरामा पनि इको रिसोर्ट सञ्चालन गर्ने बताएको छ । यसका लागि डेढ दुई सय रोपनी जग्गा खोजी भइरहेको एनई समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘नेपालको हस्पिटालिटी इन्डष्ट्रिमा नयाँ आयाम ल्याउने गरी होटल तथा रिसोर्ट सञ्चालन गर्न लागेका छौं’ श्रेष्ठले भने ‘तीनवटा समूह आफ्नो लक्ष्यमा अगाडि बढ्न सफल हुने विश्वास छ ।’

समिटले भारतीय प्रख्यात चेन होटल ब्रान्ड लीला प्यालेससँग व्यवस्थापन सम्हाल्ने गरी सम्झौता गरिसकेको छ । तीन समूहको साझेदारी पछि पनि लीलालाई व्यवस्थापन सम्हाल्न भित्राउने श्रेष्ठले जानकारी दिए । नेपाली होटल उद्योगमा कुशल व्यवस्थापन नभएको हुँदा विदेशी साझेदार खोज्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

समिट र लीलाबीच सम्झौतामा चारवटा नयाँ होटल सञ्चालन गर्ने उल्लेख गरिएको छ । सीजी र एनई समूहसँगको साझेदारी पछि पनि लिलासँगको समझदारीले निरन्तरता पाउने शाक्यले बताए ।

तीनवटै समूह होटल क्षेत्रमा उदाउँदा कम्पनी हुन् । समिटले मुलुकभित्र चारवटा होटल सञ्चालन गरिरहेको छ भने सीजीले विभिन्न मुलुकमा ८० भन्दा बढी लक्जरी होटलहरु सञ्चालन गररहेको छ ।

एनई समूहले पनि होटल सोल्टीसँग सहकार्य गरेर नेपालगञ्ज र पोखरामा चारतारे होटल निर्माणमा लागेको छ । नेपालगञ्जमा होटल निर्माण कार्य सुरु भइसकेको छ भने पोखरामा छिट्टै निर्माण सुरु हुने बताइएको छ ।

सम्बन्धित खबरहरु