मीरा राजभण्डारी अमात्य
समय-समयमा हुने गरेका आन्दोलनले नीति निर्माण तहमा परिणाममुखी भूमिका निर्वाह गरे पनि व्यावहारिक रूपमा महिलामाथि हुने अन्याय र विभेदमा भने सकारात्मक परिणाम दिन सकेको छैन । महिलामाथि हुने व्यवहार सर्वप्रथम समाज र परिवारबाटै सुरु हुने गर्छ । तसर्थ, जबसम्म समाज र परिवार चेतनशील एवं विवेकी हुँदैन, तबसम्म महिलामाथि हुने विभेद र अन्यायमाथि पूर्णविराम लाग्नेछैन ।

एउटी महिला घरको मेरुदण्ड हुने गर्छिन् । सासू–ससुरा, नन्द–आमाजू, पति र छोराछोरी उनैमाथि दृश्य–अदृश्य रूपमा निर्भर रहने गर्छन् । एउटा विवेकशील र सशक्त महिला परिवारमा सबैका लागि उत्प्रेरक र ऊर्जावान् हुने गर्छिन् । एउटा परिवारको उन्नति र प्रगति उनै महिलामाथि निर्भर रहने गर्छ । तर, समाज र राष्ट्रले महिलाको योगदानको कदर कत्तिको गरेको छ वा छैन, सायदै यस विषयमा धेरै बहस होला ।

विगतमा महिलाहरू चुलाचौका र घरव्यवहारकै काममा सीमित भए पनि विश्व बजारीकरण, बदलिँदो सामाजिक परिवेश र आर्थिक सन्तुलनका लागि महिला बिदेसिने परम्परा आवश्यकता र बाध्यताका रूपमा बढ्दो छ । परिवारको आर्थिक बोझ कम गर्न र एउटा गुुणस्तरीय जीवनयापनका लागि खाडी मुलुकलगायत अन्तर्राष्ट्रिय श्रम बजार महिलाहरूका लागि अहिले आकर्षण बनेको छ, बाध्यता पनि छ । तर, परिवारको खुसीका खातिर वैदेशिक रोजगारमा जाने महिलाले विदेशमा भोग्नुपर्ने दुःख र पीडाका साथ आफूले दुःख गरी पठाएको पैसाले लोग्नेले मोजमस्ती गर्ने, अर्कै बिहे गर्ने, छोराछोरी अलपत्र पार्ने र कुलतमा फस्ने विकृति बढ्नाले अधिकांश महिलाको पारिवारिक जीवन धरापमा पर्ने गरेको छ ।

कुबेतका लागि पहिलो पटक आफ्नो मातृभूमि छोड्नु पर्दा बेनुमाया (नाम परिवर्तन)लाई नरमाइलो लागेको थियो । सानी छोरी सात वर्षकी थिइन्, अर्को एक छोरा १२ वर्षका थिए भने ठूली छोरी नौ वर्षकी थिइन् । आफ्नो लागि काठमाडौं विमानस्थल पु¥याउन सरसामानको गुन्टा बोकेका श्रीमान्को अनुहारमा सन्तोष थियो । घरव्यवहारका लागि लिएको ऋण तिर्नुपर्ने बाध्यताले उनका श्रीमान् बेनुमायालाई कुबेत पठाउँदै थिए । बेनुमायाले एकपटक आफ्नी बूढी हुँदै गरेकी आमालाई गहभर आँसुले हेरिन् र अन्तिम पटक सानी छोरीलाई बोकिन् । अर्का दुईलाई टाउको मुसार्दै भनिन्, ‘राम्रोसँग बस्नू, हजुरआमा र बाबैलाई धेरै दुःख नदिनू म धेरै पैसा कमाएर छिट्टै फर्कन्छु है’ बोल्न नसक्दानसक्दै उनको मन भक्कानियो । अनि, गह्रौं मनसँगै पोकापन्तरा बोकेर उनी इलामबाट त्रिभुवन विमास्थलका लागि काठमाडौं हिँडिन् ।

कुबेतमा बेनुमायालाई सहज भएन, पाउनु दुःख पाइन् । घरेलुु कामदारका रूपमा काम गरेकी उनलाई मानसिक यातनालगायत शारीरिक यातनासमेत दिन्थे । भाषा नबुझेका कारण काम बिग्रन्थ्यो । मालिक र मालिकनीले मरणासन्न हुनेगरी पिट्थे । एक दिन अचाक्ली भएपछि एक दयालु नेपाली कामदारले उनलाई उम्किन मद्दत गरे । उनी गैरकानुनी रूपमा एउटा कम्पनीमा काम गर्न थालिन् । श्रीमान्की दोस्री श्रीमतीको रूपमा भित्रिएकी उनी आफ्नी

सौतेनी छोरीको उपचार गर्न लिएको ऋण तिर्नका खातिर बिदेसिएकी थिइन् । घरेलु काममा भन्दा अलि सहज भयो उनलाई कम्पनीको काम । बिस्तारै ऋण तिरिन्, छोरा–छोरीलाई बोर्डिङ पढ्न र श्रीमान्लाई चिलिमे जलविद्युत् परियोजनामा काम दिलाउन दलाललाई पैसा पठाइन् । उनी ढुक्क थिइन्, किनकि दुई पैसा आफैं कमाउने भएकी थिइन् । नेपालमा बेहोरेका आर्थिक दु:ख  र ऋणको बोझ सम्झेर परदेशमा जेजस्ता दुःख बेहोर्नु परे पनि बेनुमायाले सही रहिन् । उनलाई आशा थियो, उनका श्रीमान्ले चिलिमे आयोजनामा कमाएको र आफूले कुबेतबाट पठाएको पैसा सदुपयोग गर्नेछन् । आर्थिक जोहो भएपछि उनलाई छिट्टै नेपाल बोलाउनेछन् । अब सुखका दिन आए, उनी मनमनै गम्थिन् । नेपाल पठाएको पैसाको हिसाब राख्थिन् । तर, बेनुमायाको कल्पना कल्पनामै सीमित रह्यो । पत्नीले पठाएको पैसामा मोज गर्ने लत बसेका उनका श्रीमान्ले आफ्नो कमाइ पनि उडाए मात्रै । अझ थप रंगीन मिजासका उनका पतिले इलामकै दुई बच्चासहितकी महिलालाई बिहे गरी नयाँ घरजम गरे, आप्mना छोराछोरीलाई ससुरालीमै अलपत्र छोडेर । यो खबरले बेनुमायामाथि बज्रपात प¥यो । अहिले हाम्रो समाजमा बेनुमाया मात्र एक्लो पात्र छैनन् ।

बढ्दो पारिवारिक आवश्यकता, लगानी डुबेर ऋण बोक्न बाध्य भएका थुप्रै महिला क्रमशः बेनुमाया जस्तै बेघर बन्दै गएका छन् । नेपाली महिला कामदारका रूपमा बिदेसिने परम्पराको इतिहास लामो छैन । विशेष गरी माओवादी द्वन्द्वकालमा नेपालबाट बिदेसिने परम्पराको सुुरु भएको हो । विगत पाँच वर्षमा नेपाली महिलाको बिदेसिने संख्या ह्वात्तै बढेको छ । परराष्ट्र मन्त्रालयको एक तथ्यांकअनुसार सन् २०१० देखि सन् २०१५ सम्ममा २९ लाख ४६ हजार ९ सय ९४ जनाले पासपोर्ट लिइसकेका छन् । जसमा महिलाहरूको संख्या ४ लाख ४० हजार ४ सय २८ रहेको छ । जुन विगत पाँच वर्षको अवधिमा क्रमिक रूपमा बढ्दो छ ।

त्यस्तै, श्रम तथा वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०६३/६४ देखि आव ०६९/७० मा व्यक्तिगत रूपमा वैदेशिक रोजगारका लागि कुबेत, साउदी अरेबिया, कतार तथा इजरायललगायत ७३ राष्ट्रमा कामदारका रूपमा जाने महिलाको संख्या ३८ हजार ९ सय ५२ थियो भने त्यस्तै संस्थागत रूपमा वैदेशिक रोजगारमा जाने महिलाको संख्या ३५ हजार ४ सय २५ रहेको थियो । त्यसरी जाने राष्ट्रमा कुबेत पहिलो, यूएई दोस्रो र इजरायल तेस्रो राष्ट्रको रूपमा नेपाली महिलाको प्राथमिकतामा परेका थिए । आव ०६९÷७० मा मात्रै व्यक्तिगत रूपमा क्रमशः १४ हजार ९ सय १७ र संस्थागत रूपमा ३५ हजार ४ सय २५ महिला वैदेशिक रोजगारका लागि कुबेत, साउदी अरेबिया, कतार तथा इजरायललगायत ७३ राष्ट्र पुगेको श्रम तथा वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीको योगदान हाल सर्वाधिक महŒवपूर्ण बन्दै गएको छ । देशभित्र पर्याप्त रोजगारीका अवसर प्राप्त नभएकाले वैदेशिक रोजगारी नै महिला तथा पुरुषहरूका लागि रोजगारीको प्रमुख गन्तव्य बनिरहेको छ । तर, रोजगारका लागि बिदेसिने क्रममा उनीहरूको पारिवारिक जीवन भने क्रमशः धरापमा पर्दै गएको छ । एउटी महिलाका लागि पारिवारिक जीवन धरापमा पर्नु उनको आप्mनो व्यक्तिगत र पारिवारिक जीवनका लागि अपूरणीय क्षति त हो नै, साथै यसले समग्र राष्ट्र विकासमै पनि अवरोध गर्छ । जुन समाजशास्त्रीहरूका लागि चिन्ताको विषय बनेको छ ।

विगतमा विवाह एउटा बलियो संस्थाको रूपमा थियो, तर अहिले थोरै समय छुट्टिएर बस्नेबितिकै श्रीमान्–श्रीमतीले मानवीय मूल्यमान्यता बिर्सने र व्यक्तिवादी सोच राख्ने प्रवृत्ति बढेको पाइन्छ । यसले नै परिवार विखण्डनमा पर्ने गरेको छ । यसको कारण हो, अहिलेको आधुनिक शिक्षा प्रणाली, जसले सामाजिक मूल्यमान्यता र मानवीय एवं नागरिक दायित्वलाई आत्मसात् गर्न सकेको छैन । लाहुर जाने परम्परा नेपालका लागि नौलो होइन, तर तात्कालीन समाजमा बलियो मानवीय मूल्यमान्यता रहेकै कारण परिवार विखण्डनका घटनाहरू अत्यन्त न्यून हुन्थे । एउटा सुखी र खुसी परिवार मानवीय पहिचान हुने गर्छ । वैदेशिक रोजगारका लागि महिला र पुरुषहरू बिदेसिने परम्परा र क्रमशः बिग्रँदो पारिवारिक जीवनले नेपालको समस्त मानव विकास अवरोधमा पर्दै गएको छ ।

देशभित्र पर्याप्त रोजगारीका अवसरहरू प्राप्त नभएकाले वैदेशिक रोजगारी नै महिला तथा पुरुषहरूका लागि प्रमुख गन्तव्य बनिरहेको छ। तर, रोजगारका लागि बिदेसिने क्रममा उनीहरूको पारिवारिक जीवन भने क्रमशः धरापमा पर्दै गएको छ। एउटी महिलाका लागि पारिवारिक जीवन धरापमा पर्नु उनको आफ्नो व्यक्तिगत र पारिवारिक जीवनका लागि अपूरणीय क्षति त हो नै, साथै यसले समग्र राष्ट्र विकासमै पनि अवरोध गर्छ।

सम्बन्धित खबरहरु