स्वाईनफ्लुको संक्रमणको संख्या बढ्दै

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

swine fluजनबोली १० चैत, चितवन । चितवन जिल्लामा स्वाईनफ्लुको रोकथाममा कुनै कमी नआएका कारणले पनि मौसम परिवर्तन सँगै स्वाईनफ्लु संक्रमणको संख्यामा वृद्धि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले संकलन गरिएको कुल २६१ नमुना परिक्षणमा ७९ जनामा स्वाईनफ्लुको संक्रमण भएको जानकारी गराएको छ ।  अघिल्लो महिनाका तुलनामा यो संख्या २० ले बढी हो, कार्यालयले बतायो ।

जसमध्ये चितवनका मात्रै ६८ छन् भने नवलपरासीका सात, तनहुँ, रुपन्देही, गोर्खा र पर्साका एक–एकजना भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । स्वाइनफ्लु प्रमाणित भएकामध्ये ४२ महिला र ३७ पुरुष रहेका छन् ।

हालसम्म ३६७ को नमुना परीक्षणका लागि पठाइएकामा बाँकी १०६ को नतिजा आउन बाँकी रहेको केसीले बताए । यसअघि २०४ को नमुना परीक्षण गर्दा ५३ मा स्वाइनफ्लु प्रमाणित भएकामा सोमबार आएको नतिजामा थप ५७ मध्ये २६ मा स्वाइनफ्लु प्रमाणित भएको हो । स्वाइनफ्लुका बिरामीको सङ्ख्या एकाएक बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यलाई तीव्रता दिएको जनाएको छ ।

जिल्लाको सरकारी भरतपुर अस्पतालमा नमुना सङ्कलन गरी तीव्र परीक्षणपश्चात् शङ्का लागेका बिरामीको नमुना थप परीक्षणका लागि काठमाडौं पठाइँदै आएको छ । चितवनमा गत वर्ष ११ र अघिल्लो वर्ष १० मा स्वाइनफ्लु प्रमाणित भएको थियो ।

रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्ने लगायतका लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । बिरामीको सङ्ख्या थपिएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले स्वाइनफ्लु प्रमाणित भएका बिरामी उपचारपछि घर फर्किसकेको बताए ।

नतिजा ढिलो आउने हुँदा बिरामी उपचारपछि घर फकिइसके पनि उनीहरुलाई नतिजाको विषयमा जानकारी दिने गरेको पौडेलले बताए । बिरामी थपिएसँगै अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उच्च सतर्कता अपनाउन भनिएको उनले बताए । दुईदेखि तीन हप्तामा बिरामी घट्ने अपेक्षा रहेको पौडेलले बताए ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७