सेनाको कल्याणकारी बोर्डले जलस्रोत, पर्यटन, कृषि तथा सेवामूलक उद्योगमा लगानी गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १० चैत, २०७१

Army 2

जनबोली/ १० चैत, काठमाडौ । “हिजो तिमिहरुले देशको सेवा गर्यौ अव हामी तिमिहरुको सेवा गर्नेछौं ”  भन्ने मुल नाराका साथ स्थापना भएको नेपाली सेनाको कल्याणकारी बोर्डले जलस्रोत, पर्यटन, कृषि तथा सेवामूलक उद्योगमा लगानी गर्ने भएको छ ।
सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य तथा लघुवित्त जस्ता क्षेत्रमा बहालवाला तथा अवकाश प्राप्त सिपाहीलाई सुविधा प्रदान सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिले गरिरहेको छ ।

प्रधानसेनापतिको प्रत्यक्ष कमाण्ड रहने गरी गत वर्ष सो बोर्ड गठन भएको थियो । अब समितिमार्फत हुने काम बोर्डमार्फत हुनेछ । प्रधानसेनापति गौरवशम्शेर राणाले नवनिर्मित सो बोर्ड भवनको  केन्द्रीय कार्यालय महाराजगन्जमा सोमबार उद्घाटन गरे ।

शान्ति सेनामा सन् १९७४ मा पहिलो पटक नेपाली सेना सहभागिता हुुँदा प्राप्त भएको रु एक करोड २४ लाख रकमबाट स्थापना भएको कोषमा हाल रु ३८ अर्ब ९३ करोड ९७ लाख रकम पुगेको छ ।

करिब ४० वर्षको अवधिमा एक लाख छ हजार नेपाली सेना विश्वका विभिन्न देशमा शान्ति स्थापनार्थ शान्ति सेनामा खटिसकेका छन् । अर्कोतर्फ यस अवधिमा कोषले आफ्ना हिताधिकारीका लागि सामाजिक क्षेत्रका शिक्षा, स्वास्थ्य, आयआर्जन जस्ता क्षेत्रमा रु २९ अर्बभन्दा बढी लगानी गरिसकेको छ ।

बोर्डका कार्यकारी निर्देशक सिवी गुरुङले बैंकमा रकम राखी त्यसबाट आउने ब्याज खाने प्रचलनलाई अन्त्य गर्दै बोर्डले आफ्ना हिताधिकारीका साथै नाफारहित रुपमा नयाँनयाँ क्षेत्रमा लगानी गर्ने नीति लिएको जानकारी दिनुभयो ।

हाल बोर्डअन्तर्गतका बहालवाला ९५ हजार ६१५ र भूतपूर्व ६४ हजार ५४० हिताधिकारी रहेका कार्यक्रममा जानकारी दिइयो । सरकारले यस वर्ष कोषका लागि रु सात करोड सहयोग प्रदान गरेको थियो ।

Army

सम्बन्धित खबरहरु