आयोगप्रति त्रास, शङ्का, आस र विश्वास सबै छ, द्वन्द्वका क्रममा भएका घटनाको छानबिन गर्न दुई आयोग निष्पक्ष हुनुपर्ने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

Sambidhansabhaजनबोली ११ चैत, काठमाडौं ।  व्यवस्थापिका–संसद्, सामाजिक न्याय एवम् मानवअधिकार समितिका सदस्यले द्वन्द्वका क्रममा भएका मानव अधिकार विरुद्धका घटनाको यथार्थ र वस्तुपरक ढङ्गबाट छानबिन गर्न दुई आयोग निष्पक्ष हुनुपर्ने सुझाव दिएका छन् ।

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको भावी कार्यक्रम र कार्ययोजनाबारे मंगलबार जानकारी लिँदै समितिले दुवै आयोगका अध्यक्षसहितका पदाधिकारीलाई बोलाएर कामको थालनी विधि, कार्यसम्पादनमा देखिएका समस्या र चुनौती तथा निराकरणका लागि संसद्बाट कस्तो सहयोगको अपेक्षा गरिएको छ भनेर सोधनी गरेको थियो । बैठकमा केही सदस्यले भने, “आयोगप्रति त्रास, शङ्का, आस र विश्वास सबै छ, निष्पक्ष छानबिनका लागि आयोगको साहस र राजनीतिक दलको सहयोग आवश्यक छ ।” सबैलाई आममाफी दिन नहुने र राहतले पीडाको घाउ निको हुँदैन भन्ने पाटोलाई हेक्कामा राखेर काम गर्न सुझाव दिँदै सदस्यले द्वन्द्वका समयमा मारिएका व्यक्तिका बारेमा यथार्थ तथ्याङ्क सङ्कलन गर्नका लागि गाविसलाई परिचालन गर्न आवश्यक रहेको बताए ।

वास्तविकता पत्ता लगाउन आयोग प्रत्येक गाविस र वडासम्म पुग्न आवश्यक रहेको बताउँदै उनीहरुले छानबिन गर्दा सरकार, विद्रोही र अपराधिक मानसिकता बोकेका व्यक्ति कसबाट हत्या वा बेपत्ता पार्ने काम भएको हो छुट्याउन जरुरी रहेको सल्लाह दिए । आयोगले आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काम गरोस्, छानबिनपछि पनि पीडित फेरि पनि पीडित नै बन्ने अवस्था नरहोस् भन्दै सदस्यले बेपत्ता पारिएका व्यक्तिको पीडा अत्यन्तै संवेदनशील र भयानक हुन्छ भन्ने पक्षलाई बुझेर काम गरियोस् भनेर आयोगका पदाधिकारीलाई अनुरोध गरे । उनीहरुले भने, “न्याय दिलाउने पाटोमा दुवै आयोगले दिने सुझाव व्यावहारिक र न्यायपूर्ण हुनुपर्छ, सबैभन्दा धेरै गाउँमा बस्ने गरिब र निरक्षर मानिस द्वन्द्वको चपेटामा परेकाले तथ्याङ्क सङ्कलन गर्दा त्यसप्रति अत्यन्त चनाखो हुनुपर्ने अवस्था छ ।”

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको छ महिनाभित्र बनाउने भनिएको आयोग आठ वर्षपछि बल्ल बन्दा फेरि पनि आयोगले पीडितलाई थमथम्याउने काम मात्र गर्ने हो कि भन्ने आशङ्का रहेको बताउँदै सदस्यले द्वन्द्वको पीडा विपन्न समुदायमा विकराल भएकाले उनीहरूलाई क्षतिपूर्ति पुर्याउने र समन्वय गर्ने विषयमा कसरी सोचिएको छ भनेर प्रश्न गरेका थिए । जवाफमा आयोगका पदाधिकारीले आवश्यक जनशक्ति, कार्यालय र बजेट अभावमा पनि दुवै आयोगले कार्यालय खडा गरेर काम प्रारम्भ गरिसकेको जनाउँदै आयोगको कामप्रति आशङ्का नगर्न अनुरोध गरे ।

“आयोगको काम जटिल र संवेदनशील छ, ऐन छ, कार्यविधि छैन, कतिपय ऐन संशोधन गर्नुपर्ने, नियमावली र आचारसंहिता बनाएर मात्र काम गर्नुपर्ने अवस्था छ, यद्यपि आयोगलाई पीडितमैत्री र महिलामैत्री बनाउँदै कतिपय विदेशी अनुभवबाट समेत पाठ लिएर द्वन्द्वको गहिरो पीडा र फराकिलो घाउमा मलम लगाउने काम हुनेछ” –आयोगका पदाधिकारीले भने ।

संसद्भित्र र बाहिरका दलहरूसँग छलफल सुरु भइसकेको, द्वन्द्वमा प्रत्यक्ष संलग्न रहेका विद्रोही, नेपाली सेनालगायत अन्य सुरक्षाकर्मीसँग मारिएका तथा बेपत्ता व्यक्तिका बारेमा प्रारम्भिक तथ्याङ्क लिएर त्यसको विश्लेषणका आधारमा अरू चरणमा प्रवेश गरिने बताउँदै उनीहरूले राज्य, मानवअधिकारवादी संस्था र विद्रोही पक्षबाट प्रस्तुत गरिएको द्वन्द्वको समयमा मारिएका तथा बेपत्ता पारिएका व्यक्तिको तथ्याङ्कमा एकरूपता नभएको जानकारी दिए ।

आयोगले मेलमिलापका लागि आवश्यक वातावरण बनाउन प्रयत्न गरे पनि त्यसको कार्यन्वयनको पाटोमा सरकारकै महत्वपूर्ण भूमिका रहने बताउँदै पदाधिकारीले अनुसन्धानका लागि सरकार र राजनीतिक दलबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरे ।

बेपत्ता आयोगले आफ्नो कामलाई प्रारम्भमा छानबिन तथा सत्यतथ्य पत्ता लगाउन त्यससँग सम्बन्धितसँग निवेदन माग गर्ने, त्यो पूरा भएपछि परिपूरणको प्रक्रिया अघि बढाउने र पीडितलाई परिचयपत्र वितरण गर्ने गरी तीन चरणमा काम अघि बढाउने सोच बनाइएको सो अवसरमा जानकारी दिइयो । दुवै आयोगलाई दुई वर्षको समायावधि दिइएको छ ।

आयोगलाई २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्मको समयावधिमा भएका घटनामा मारिएका तथा बेपत्ता परिएका व्यक्तिको छानबिन गरी शान्तिलाई स्थायित्व प्रदान गर्न अपनाउनुपर्ने उपायका बारेमा सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । सो अवधिमा १५ देखि १७ हजारको हाराहारीमा मानिस मारिएको अनुमान गरिएको छ भने बेपत्ता हुनेको सङ्ख्या अझै पनि यकिन हुन सकेको छैन ।

समितिका सभापति सुशील श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सदस्यले राखेको जिज्ञासालाई आयोगका अध्यक्षद्वय लोकेन्द्र मल्लिक र सूर्यकिरण गुरुङले शान्त तुल्याएका थिए । रासस

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७