पीडितले अझै पनि न्याय पाएनन्

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ११ चैत, २०७१

gang_rapeजनबोली ११ चैत धनगढी । अपराध अनुसन्धानको पाटो फितलो हुने गरेकै कारण बलात्कारजस्ता जघन्य अपराधका पीडितले उचित न्याय पाउन नसकिरहेको सरोकारवालाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा मङ्गलबार आयोजित बलात्कार अपराध नियन्त्रण अभियानसम्बन्धी जिल्लास्तरीय गोष्ठीका वक्ताले अपराध अनुसन्धानमा भइरहेको कमी कमजोरीकै कारण न्यायालयलाई पनि वास्तविक पीडितलाई न्याय दिन र पीडकले दण्ड नपाउने अवस्था सिर्जना भइरहेको बताए ।

कार्यक्रममा जिल्ला न्यायाधीश यज्ञराज भट्टले सूचना र प्रविधिमा भएको विकाससँगै यसको दुरुपयोग पनि बढेको र बेरोजगारी समस्यालगायतका कारण अपराधका घटना बढ्न थालेको उल्लेख गर्दै यस्ता घटनाको अनुसन्धान गर्ने परम्परागत पद्धतिमा परिवर्तन गर्नु जरुरी भइसकेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जिल्लामा बलात्कारका घटना बर्सेनि बढ्दै गएको र यस्ता घटना हुन नदिन समाजका सबै सरोकारवालाको सामूहिक प्रयासको खाँचो औंल्याए । फितलो कानुन, बालश्रम नियन्त्रण हुन नसक्नु, ढिलो गरी अपराधको जाहेरी प्राप्त हुनु, लागुऔषध नियन्त्रण हुन नसक्नु, अभिभावकले आफ्ना बालबालिकाको गतिविधिको उचित रेखदेख नगर्नु, जनचेतना हुन नसक्नुलगायतका कारण जिल्लामा बलात्कारको घटनाको नियन्त्रणमा चुनौती बढेको प्रहरी उपरीक्षक चन्दले बताए ।

जिल्लामा हुने यस्ता घटनामध्ये बेरोजगार युवाबाट सबैभन्दा बढी घटना हुने गरेको बताइएको छ । कैलालीमा गत वर्ष १८ वटा बलात्कारका घटना जिल्ला प्रहरी कार्यायमा दर्ता भएकामा चालु आवको हालसम्म २२ वटा यस्ता घटना दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता नहुने यस्ता घटना ठूलो सङ्ख्यामा रहेको अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा भएको गोष्ठीमा महिला अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । प्रहरीले बलात्कारका घटना रोकथाम गर्न अल्पकालीन कार्य योजना बनाई कार्यान्वयन गर्न लागेको जनाएको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७