खिलराज रेग्मीले उर्जा मन्त्रालयको गाडी फिर्ता गरेनन

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

Khil-Raj-Regmi-203x300काठमाडौ । दोस्रो संविधानसभा निर्वाचन गर्न अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उर्जा मन्त्रालयको गाडी फिर्ता नगरेका कारण उर्जा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाडी मागेर चढ्नुपरेको छ ।

स्वास्थ्य मन्त्रालयले गाडी फिर्ता गर्न पटक-पटक ताकेता गरेपनि आफ्नो मन्त्रालयले खरिद गरेको गाडी फिर्ता ल्याइदिन प्रधानमत्री तथा मन्त्रिपरिषद कार्यालयले सहयोग नगरेपछि उर्जा मन्त्रालयले स्वास्थ्यको गाडी फिर्ता नगरेको अार्थिक दैनिकमा खबर छ ।

स्वास्थ्यले आफ्नो गाडी मागेपछि उर्जामन्त्री राधा ज्ञवाली गाडी फिर्ता गर्ने पक्षमा रहे पनि मन्त्रालयल प्रशासनले अर्को गाडीको व्यवस्था गर्न नसकेपछि उक्त गाडी फिर्ता नगरिएको हो ।

निर्वाचनका बेला मन्त्रिपरिषद अध्यक्षमा चयन भएपछि रेग्मीले अन्य गाडीको साथै उर्जा मन्त्रालयले लामो समयपछि बल्लतल्ल किनेको बा १ झ ९३४६ नम्बरको स्कोरपियो गाडी पनि आफू र आफन्त बोक्नका लागि भनेर लगेका हुन् ।

प्रधानमन्त्री कार्यालयले उर्जाको स्वामित्वको गाडी लगेपछि उर्जाकै स्वामित्वमा अर्को गाडी व्यवस्था गर्नुपर्नेमा स्वास्थ्य मनत्रालयको स्वामित्वको गाडी टाँसो लगाएको हो । कानुनी रुपमा हेर्दा उर्जा मन्त्रालयको उक्त गाडी गायब भएको देखिन्छ ।

सम्बन्धित खबरहरु