नेपाली काङ्ग्रेस सक्रिय सदस्यता बितरण तथा नविकरणमा विवाद

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १२ चैत, २०७१

congressजनबोली १२ चैत, नेपालगञ्ज । नेपाली काङ्ग्रेस बाँकेमा सक्रिय सदस्यता बितरण तथा नविकरणमा विवाद देखिएको छ । मरिसकेका व्यक्तिको नाममा समेत सक्रिय सदस्यताका लागि आवेदन परेको छ । सदस्यता वितरणमा देखिएको विवाद समाधानका लागि जिल्ला कार्यसमितिको बैठकले कार्यवाहक सभापति लाहुराम थारुको अध्यक्षतामा कार्यदल गठन गरेको छ ।

समितिको सुझावका आधारमा फेरी जिल्ला कार्यसमितिको बैठक बसेर बिवाद समाधान गरिने क्षेत्र नम्बर ४ का सभापति महेन्द्र मल्ल ठकुरीले जानकारी दिए । अन्य जिल्लामा जस्तो सक्रिय सदस्यता वितरण र नविकरणमा कोइराला र देउवा पक्षबीच बिवाद नभएपनि प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालापक्षीय नेताहरुबीचको आपसी बिवादका कारण सदस्यता वितरण र नविकरणमा बिवाद झिकिएको देउवापक्षीय नेताहरुको दावी छ ।

कोइराला पक्षमा रहेका पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, सभासदहरु बादशानह कुर्मी तथा मैकुलाल बाल्मिकी समूहको आन्तरिक विवादले सदस्यता वितरण प्रक्रिया विवादमा परेको एक नेताले बताए ।

नेपाली काङ्ग्रेस बाँकेका सचिव विजयबहादुर यादवले पार्टीको विधान अनुसार वडा, गाउँ हुँदै क्षेत्रीय कमिटिले सिफारिस गरेका फारमहरु जिल्ला कार्यसमितिमा पेश भएको बताए । पार्टीको विधान अनुसार वडा कार्यसमिति सम्मको निर्णयको आधारमा सक्रिय सदस्यको नाम सिफारिस हुने भएकाले कसैले गोप्यरुपमा फाराम भर्दैेमा त्यसले मान्यता नपाउने उनले बताए ।

नेपाली काङ्ग्रेस बाँकेमा करिब तीन हजार ३०० पुराना सक्रिय सदस्य छन् । उनीहरुबाट जति जनाको नविकरण हुन्छ सोही सङ्ख्याको आधारमा नयाँ सदस्यता वितरण हुने सचिव यादवले जानकारी दिए ।

सम्बन्धित खबरहरु