Kp-oliजनबोली १३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शिर्ष नेताहरु दिन बिराएर जान थालेका छन् । विहीबार एकीकृत नेकपा बाबुराम भट्टराईले बालकोटमा अध्यक्ष ओलीसँग करिब २ घण्टा वार्ता गरेका थिए ।

त्यसको २४ घण्टा नबित्दै आज नेपाली कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार एमाले अध्यक्ष ओली निवास पुगेका छन् ।

देशको वर्तमान राजनीतिक समस्यालाई समाधान दिनेबारेमा अध्यक्ष ओली, काँग्रेस महामन्त्री सिटौला र मधेसी जनाधिकार फोरमका अध्यक्ष गच्छदारबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

ओली निवास बालकोटमा बिहान ७ः३० बजे पुग्नुभएका काँग्रेस महामन्त्री सिटौला र ओलीबीच पौने एकघन्टा भेटवार्ता भएको थियो ।

पौने ९ बजे सिटौला बाहिरिएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार बिहान ९ बजे ओली निवास पुगेका थिए ।

ओली र गच्छदारबीच दुई घन्टा कुराकानी भएको नेता ओलीका स्वकीय रमेश आचार्यले जानकारी दिए । नेता गच्छदार बिहान ११ बजे फर्किएका थिए ।

ओलीसँग सिटौला र गच्छदारको छुट्टाछुट्टै भेटमा देशको वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्ने र सहमतिका लागि छलफल अगाडि बढाउने बारेमा कुराबानी भएको आचार्यले जानकारी दिए ।

एमाओवादी अध्यक्ष दाहाल चीन भ्रमणबाट फर्किएलगत्तै शनिबार शीर्ष नेताबीच छलफल गर्न दलहरु तयार भएपछि शीर्ष भेटलाई सहज बनाउन आज उनीहरुबीच भेटवार्ता भएको ओली निवासले जनाएको छ ।

सम्बन्धित खबरहरु