एजेन्सी । वैज्ञानिकले मानव शरीरभित्रका अंग हेर्न सकिने क्यामेरा निर्माण गरेका छन्। अहिले चिकित्सकहरू भित्री शारीरिक अंग परीक्षण गर्न इन्डोस्कोपी गर्छन्। शरीरभित्र हेर्न सकिने क्यामेरा खासमा इन्डोस्कोपी गर्दा चिकित्सकलाई सघाउन निर्माण गरिएको हो। इन्डोस्कोपी बाहेक स्क्यान र एक्सरे गरी चिकित्सकले भित्री अंगको स्वास्थ्य स्थिति पत्ता लगाउँदै आएका छन्। नयाँ क्यामेराले इन्डोस्कोपीको लचिलो लामो ट्युबको अगाडिबाट निस्कने उज्यालोजस्ता प्रकाशको स्रोतका माध्यमबाट शरीरभित्र काम गर्छ। ‘यो क्यामेरामा बेग्लाबेग्लै काम गर्ने क्षमता छ,’ युनिभर्सिटी अफ एडिनवर्गका प्रोफेसर केव धालीवालले भने, ‘खासगरी शल्यक्रिया गरिरहेका बेला कुन डिभाइस कहाँ छ भनेर थाहा पाउनु अत्यन्त महत्वपूर्ण हुन्छ।’

प्रारम्भिक परीक्षण अनुसार यो क्यामेरामा सामान्य परिस्थितिमा शरीरका कोसिकाको २० सेन्टिभिटरभित्र प्रकाशका स्रोत पत्ता लगाउने क्षमता छ। इन्डोस्कोपीबाट निस्कने प्रकाशले शरीर पार गर्न सक्ने भए पनि टिस्यु र विभिन्न अंगका कारण सिधा यात्रा गर्न नपाउँदा परावर्तित हुन्छन् वा भित्रै बिलाउँछन् । यसैकारण भित्री अंगको सफा र प्रस्ट तस्बिर खिच्न कठिन हुन्छ। विकसित नयाँ क्यामेराका माध्यमबाट सूक्ष्म कण (जस्तैः फोटोन कणहरू) पत्ता लगाउन सकिने भएको छ। क्यामेरा यति धेरै संवेदनशील छ कि टिस्यु हुँदै जाने प्रकाशको सूक्ष्म किरण पनि ‘क्याप्चर’ गर्छ। यो क्यामेराले शरीरबाट प्रकाश पार हुन लाग्ने समय पनि गणना गर्न सक्छ। अर्थात् यसले इन्डोस्कोपीको अघिल्लो टुप्पो शरीरभित्र कहाँ छ भन्ने बताउन सक्छ। वैज्ञानिकले बिरामीको बिछ्यौनामा राखेर नै प्रयोग गर्न सहज होस् भनेर यो क्यामेरा निर्माण गरेको बताएका छन्।

सम्बन्धित खबरहरु