उदयपुरका पत्रकार सचिन भट्टराई मृत अवस्थामा फेला

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

Sachin-Bhattarai-dainiknepal

जनबोली/ १५ चैत, काठमाडौ । उदयपुरका युवा पत्रकार सचिन भट्टराई सुनसरीको इटहरीमा मृत फेला परेका छन् । इटहरीको धरान विराटनगर सडक खण्डको किनारमा पत्रकार भट्टराईको मृत शरीर भेटिएको हो । प्रहरीले बुधबार नै बेबारिसे शव भेटे पनि त्यसको सनाखत हुन सकेको थिएन् । तर, उदयपुरका पत्रकारहरुले सोधीखोजी गरेपछि त्यो शव भट्टराईकै भएको पुष्टि भएको हो । सचिनका दाजुले शवको सनाखत गरेका थिए ।

उदयपुर सदरमुकाम गाईघाटबाट प्रकाशित हुने बरुवा टाइम्सका कार्यकारी सम्पादक रहेका भट्टराई चैत्र १० गतेदेखि इटहरीबाट बेपत्ता भएका थिए । घरायसी कामका लागि सुन जमानत राख्न उनी चैत १० गते इटहरी आएका थिए । त्यसपछि एकजना आफन्तसँगै धनकुटाको भेडेटार घुम्न गएका उनी साँझ ७ बजेपछि इटहरीबाट हराएका थिए । प्रहरीका अनुसार, उनको टाउकोमा गम्भीर चोट देखिएको छ । घटनाको प्रकृति हेर्दा दुर्घटना जस्तो देखिए पनि टाउकोबाहेक शरीरका अन्य भागमा चोट नलाग्नु र मोबाइल इटहरीमै भेटिनुले थप आशंका उब्जाइदिएको छ ।

साँझसँगै बसेर खाजा खाएका उनका आफन्तले बोली फेरिरहेकाले हत्याको आशंका गरिएको प्रेस चौतारीका पूर्वाञ्चल उपाध्यक्ष कुशलबाबु बस्नेतले बताएका छन् । सचिनको मृत्युपछि उदयपुर र सुनसरीका पत्रकारहरु शोकाकुल बनेका छन् । घटनाबारे सत्यसत्य पत्ता लगाउन उदयपुरका पत्रकारहरुको टोली इटहरी आइपुगेको प्रेस चौतारी उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । पत्रकारितामा सक्रिय रहँदारहँदै केही समय वैदेशिक रोजगारीमा गएका सचिन गत मंसिरमा मात्र नेपाल फर्किएका थिए । उनी प्रेस चौतारी उदयपुरसँग आबद्ध थिए ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७