नार्सिसस हुनु राम्रो कि नराम्रो ? नेपालको राजनीतिसँग जोड्दा…

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

तुलसी आचार्य / स्तम्भकारको रुपमा अंग्रेजी शब्दको खोजी निकै गरेँ, तर नेपालीमा लेखहरु कमै मात्रामा छपाएको छु । आफ्नो बारेमा लेख्नेकी?, अर्काको बारेमा लेख्ने? यो द्विविधामा म नपरेको भने पटक्कै होईन । मैले जति पनि लेख लेखेँ– आफ्नै बारेमा लेखेँ । आफ्नै पृष्ठभूमिमा लेखेँ । मैले देखेको संसार र त्यसको सरंचनाको बारेमा लेखेँ । कहिले आफैँ नार्सिसस जस्तो भएर लेखेँ । जहाँ मेरो महत्व, आकांक्षा–अभिलाषा भन्दा ठुलो यो दुनियाँमा मैले केहि देखिनँ, कोहि देखिनँ । त्यसका पनि फाइदा र बेफाइदा दुवै छन् । नार्सिसस जस्तो भएर जीवन बाँच्नुमा मैले आत्म बल पाउँछु, अपराजित शक्ति पाउँछु तथापि दुनियाँमा कोहि नभए पनि स्वयंसँग निर्भरहुने तागत पाउँछु । म आफुलाई सुन्दर देख्छु, आफैँसँग प्रेममा पर्छु । आफैँसँग प्रेममा पर्नुलाई मैले कहिल्यै गलत रुपमा लिईँन । मेरो विचारमा त्यही आंकलनलाई मान्छेले जीवन सुन्दर देख्छ । अर्कातिर यसका बेफाइदाहरु पनि छन् । त्यो भन्दा पहिले नार्सिसस शब्दको सम्बन्ध केलाउनु आवश्यक छ । नार्सिसस शब्द ग्रीकको पौराणिकपात्र नार्सिससबाट आएको हो ।

नार्सिसस एउटा सिकारी थियो । जो आफ्नो सुन्दरताको लागि नामुद थियो । उसलाई आफ्नु सुन्दरतामा यति घमण्ड थियो की उसलाई मनपराउने जति सबैलाई ऊ घृणा गर्थ्यो । एकदिन ऊ डुल्दै जाँदा एउटा पोखरी भए ठाउँ पुग्यो । र, उसले त्यो पोखरीमा परावर्तित आफ्नै तस्बिर देख्यो । स्वयं आफ्नै तस्बिरको सुन्दरताले उसलाई त्यो पोखरीभित्र तान्यो र ऊ त्यही डुबेर जीवन लिला समाप्त गर्यो । यसले के अर्थ बोक्छ भने आफैँ प्रतिको मोह र घमण्डीपनले निश्चय नै आफ्नो अन्त्य हुन्छ । मैले नार्सिससलाई नेपालको राजनीति र राजनेतासँग जोडेर हेरेको छु ।

हाम्रो देशमा राजनीतिक उतार–चढाव भए । कहिले ठुलापाटी साना भए त कहिले सानापाटी ठुला भए । कोहि सडकबाट सदन पुगे कोहि सदनबाट सडक पुगे । नेपालको राजनैतिक रङ्गमञ्चमा अनगिन्ती पात्रहरु दोहोरिए । अनगिन्ती पात्रहरु नयाँ आए, नयाँ बनेर आए । अब त केही हुन्छ कि भनेर तीनै नौला अनुहारहरुलाई छनौट गर्यौँ, मनपरायौँ, भोट हालेर जितायौँ, अन्ततः सदन सम्म पुर्यायौँ । त्यो यतिमा मात्र सिमित भएन । उनीहरुलाई निश्चित गन्तव्य त पुर्यायौँ । अर्थात् तलाउमा पुगे, तहाँ आफ्नै प्रतिबिम्ब मात्र देखे । त्यो नार्सिसस मोहले उनीहरुलाई कहिँ पनि पुर्याएन ।

खाली कुर्सि मोह र एक अर्काको आरोप प्रत्यारोपले ऊनीहरुको मनोविज्ञान आफ्नो व्यक्तिगत लाभ र प्रलोभन भन्दा पर जान सकेन । जनताहरु आफ्नै कथा लिएर बाँचे, गरिबहरु आफ्नै पसिना पिएर बसे, असहायहरु सहयोगको भिख फैलाएर हिँडे । तर, नेताहरुलाई आफ्नै मोहले कहिल्यै पनि छोडेन । यो हाम्रो देशको दुर्दशा हो । सद्देलाई पागल देख्ने हाम्रो देश, नेताहरुको नार्सिसस मोहले विक्षिप्त बनेको छ । हुन ता महाकवि लक्ष्मीप्रसाद देवकोटाले पहिले लेखेका थिए एउटा सान्दर्भिक कविता पागल । “जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन !” नेपालको राजनेतिक धरातलीय स्वरूपय कम्जोर हुँदै गएको छ की नेतृत्व गर्ने वर्ग स्वयंको संसारलाई हेर्ने दृष्टीकोण बिग्रिएको र भत्किएको सामाजिक संरचनाले निर्धारण गरेको छ ।

राष्ट्र राणाकाल हुँदै, पञ्चायती व्यवस्था सँगै संघीय लोकतान्त्रिक गणतन्त्र भैसक्दा पनि हामीले गर्ने अभ्यास र परिपाटीमा कति पनि परिवर्तन आएको छैन । हो, नामहरु फेरिए, सत्ता व्यवस्था पल्टियो, केहि शहरहरुमा परिवर्तन आए होलानर् तर नेपालका हजारौँ ठाउँहरुमा जाने हो भने यो गति घडीको मिनेट काँटा भन्दा धिमा गतिमा विद्यमान छ । म जहिले तनाबमा सम्झिन्छु भूपी शेरचनको कविता हामी जसले हाम्रो नार्सिससपनलाई पानीको निर्बलीय जत्था पो बनाईदिन्छ यी हरफहरुमा; “हामी आफु खुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइ दिनुपर्ने हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने कसैले छुटाइ दिनुपर्ने हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने कसैले पछाडिबाट हिर्काउनुपर्ने हिँडाउनुपर्ने हामी रङ्ग–रोगन छुटेका टुटेका फुटेका पुरानो क्यारम बोर्डका गोटी हौं” नेपाली राजनीतिलाई सुहाउँदा यी हरफहरुले हाम्रो नेपाली राजनीतिको नार्सिससपनको धज्जी उडाउँछ खाली तलाउ छेउ बसेर आफ्नो अनुहार हेर्न बानी परेका हाम्रा केहि नार्सिसस स्वभावका नेताहरुले आफु देखि बाहेकको यो दुनियाँमा कसैलाई देखेनन् ।

इतिहास साक्षी छ । वि.सं २०६४ चैत २८ गते संविधान सभाकोलागि भएको पहिलो निर्वाचन देखि वि.सं. २०७० मंसिर सम्म आइपुग्दाको निर्वाचनले संविधान बनाउँनुभन्दा बढी जातीय हिंसा बढायो, भूगोललाई खण्डित बनायो, गुटबन्दीलाई फैलायो । र, मन्त्रिमण्डललाई तन्कायो । आफ्नै दुनु सोझ्याउने हान्थापमा गरिब जनताका बाँच्न पाउने अधिकारको चिरहरण भयो । आलंकारिक रुपमा भन्नुपर्दा एक दाम्लो पेट भएका गरिब नाम्ले लागेर संसार त्याग्यो । जनताका अधिकार सुरक्षित गर्न अनशन बढ्यो । मलाई यति बेला कसैलाई दोष दिन मन छैन । किनभने यी राज्यसत्तामा पुग्ने यी सबै हाम्रै समाजका पात्रहरु हुन् ।

एउटा ढोंग, आडम्बरी र परम्पराकालदेखि चलिआएको रुढीवादी सामाजिक विश्वासले गाजेको हाम्रो जीवनदर्शन, सोच र विश्वास हाम्रो धरासायी राजनीतिका बलिया प्रमाण हुन् । यो सामाजिक संरचनाले बनेको हाम्रो चिन्तन आफ्नो व्यक्तिगत नार्सिससपनभन्दा माथि उठ्न सकेन । जन्मिँदै हाम्रो चिन्तन यसरि सामाजिकीकरण भयो त्यसको असर नेपाली राजनीतिमा टड्कारोको रुपमा देखा पर्यो । हामीले तलैबाट परिवर्तन गर्न सकेनौँ । ढुंगेयुगबाट प्रविधिको युगमा आइपुग्दा पनि हामी आफ्नै मोहमा लिप्त भयौँ । यसको असर नेपालको राजनीतिमा मात्र होइन, नीति निर्माण देखि लिएर, शासन व्यवस्था हुँदै, नीति पालन सम्म परेको छ ।

हामीलाई थाहा छ, हामीलाई एउटा यस्तो राजनेताको खाँचो छ जसले नेपालको इतिहास नै कायापलट गरिदेओस् । यो शब्दमा मात्रै निहित छ, व्यवहारमा यसको कुनै तुक छैन अहिलेको नेपाली समाजमा । नबोलेर काम हुन्छ भने नगर्ने वाताबरण सिर्जना हुन्छ । यद्यपी सम्वाद र छलफल नै मुख्य जड हो । जसले समस्यालाई बुझ्ने र त्यसकोे समाधान खोज्ने काम गर्दछ । समस्या कहाँबाट उब्ज्यो त्यो नै ठुलो प्रश्न हा,े निकासको लागि किन उब्ज्यो? यी प्रश्नहरुले धेरै विकल्पहरुको सिर्जना गर्छ । यी पश्नहरुले फेरी पनि तलाउको छेउमा त पुर्याउँछ नै, तर त्यहाँँ लागेर आफ्नो अनुहार होइन समस्याले गलित समाजको ऐना देखाउँछ ।

आफुलाई फेरी पनि माया गर्ने रहर जाग्छ तर फरक किसिमले, नर्सिससको नराम्रो पाटोबाट होइन जहाँ मान्छे लोभी, घमण्डी हुन्छ सत्ता लिप्सामा । त्यो नार्सिससपन जसको राम्रो पाटो पनि छ जसले एउटा महत्व, आकाँक्षा र अभिलाषा बोकेर हिँड्छ । नार्सिसस जस्तो भएर जीवन बाँच्नुमा आत्मबल पाईन्छ, एउटा अपराजित शक्ति पाईन्छ र दुनियाँमा कोहि नभए पनि स्वयंसँग निर्भर हुने तागत पाईन्छ । फेरी पनि गलत नार्सिससपन लिए त्यसको लिला समाप्ति अवश्यमेव छ ।

लेखक Florida Atlantic University फ्लोरिडा एटलाण्टिक विश्वविद्यालयमा विद्यावारिधिरत छन् । आचार्यद्वारा लिखित पुस्तक Running from the Dreamland  प्रसिद्ध छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७