चैत १९ गतेको बन्द फिर्ता, २४ देखि तीन दिन कठोर बन्द गर्ने विपक्षी मोर्चाको निर्णय

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

30-Dal-morcha
जनबोली/ १६ चैत, काठमाडौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको चैत्र १९ गतेको आम हड्ताल फिर्ता लिएको छ । आज बसेको मोर्चाको बैठकले १९ गतेको नेपाल बन्द फिर्ता लिएपनि २४, २५ र २६ गतेको तय भएको आमहड्ताल भने कायमै राख्ने निर्णय गरेको हो । सिंहदरवारमा बसेको ३० दलीय मोर्चाको बैठकमा संयोजक प्रचण्डले २४, २५ र २६ गतेको आमहड्ताल बाहेकका अन्य कार्यक्रम स्थगितको प्रस्ताव राखेका हुन्, जसलाई बैठकले अनुमोदन गरेको छ ।

यससँगै १९ गतेको नेपाल बन्दसहित २३ गतेसम्मको आन्दोलन फिर्ता भएको छ । पूर्व घोषित कार्यक्रम अनुसारे १८ गते सरकारी कार्यालय घेराउ, १९ गते नेपाल बन्द र २३ गते सरकारी कार्यालय बन्द तथा नाकाबन्दी गरेर कर असुली रोक्ने कार्यक्रम थियो । बैठकमा ३० दलीय मोर्चाका संयोजक प्रचण्डले अब लामो संघर्षको तयारी गर्नु पर्ने बताए । धर्ना, घेराउ जस्ता कार्यक्रम फिर्ता लिएर सशक्त आन्दोलनको तयारीको तयारीमा जुट्नु पर्ने उनले बताए ।

‘कांग्रेस र एमाले सहमतिमा संविधान बनाउन चाहँदैनन् भन्ने प्रष्ट भयो’ प्रचण्डले भने(‘अब सानोतिनो कार्यक्रम गरेर हुँदैन । सशक्त आन्दोलन गर्नुपर्छ ।’ उनले ३० दलका नेताहरुलाई जिम्मेवारी दिएर फिल्डमा पठाउने समेत बताए । यसको प्रस्ताव तयार पार्ने जिम्मा सचिवालयलाई दिइएको छ ।

प्रचण्ड नेतृत्वको मोर्चाले २३ गते बोलाइएको संविधानसभा बैठकमा नजाने निर्णय गरेका छन् । सभाध्यक्षले एकपक्षीय रुपमा बोलाएको बैठकमा नजाने मोर्चाको निर्णय छ । दलहरुबीचको सहमति प्रयास असफल भएपछि सभाध्यक्षले २३ गते संविधानसभा बैठक बोलाएका छन् ।

यसैगरी ३० दलीय मोर्चाको बैठकले अब ठोस आधार तय नभएसम्म सत्ता पक्षसँग वार्तामा नबस्ने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरु इमान्दार भएर वार्तामा बसेको तर, कांग्रेस र एमालेले आन्दोलन कमजोर पार्ने षड्यन्त्र मात्र गरेको उनले बताए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७