इन्द्र आचार्य, जनबोली/ काठमाडौ । यो देशकै सबैभन्दा ठुलो शिक्षण संस्था महाराजगञ्ज शिक्षण अस्पतालमा स्टेथेस्कोप चलाउने डाक्टरहरू कविता लेख्दै टाँसिरहेका छन् । शिक्षा क्षेत्रमा देखिएको विकृति, विसंगति र भ्रष्टाचार न्युनिकरणको माग गर्ने गरिब जनताका स्वास्थ्य सेवक ५७ वर्षे डा. गोविन्द केसी त्यही भिडमा गलिरहेका छन् । शिक्षण अस्पतालको सेमिनार कक्षमा लमतन्न सुतिरहेका डा. केसी अति शिथिल बनिरहेका छन् । केही नखाएका उनको शरीरले केही दिनयता विभिन्न क्रियाप्रतिक्रिया छेवैको मोनिटरमा देखिइरहेका छन् । इलेक्ट्रोकार्डियोग्राफी मेसिनको टिकटिक आवाज निरन्तर छ । सहकर्मी डाक्टर र नर्स उनको अनुहारमा टुलुटुलु हेरेर सेवामा खटिएका छन् । विभिन्न संस्थाका पदाधिकारी चिठी र विज्ञप्तिसहित नजिकै आउँछन् । हात जोर्छन् । ऐक्यबद्धता सुनाउँछन् । जो–जो भेट्न आउँछन्, सत्याग्रही केसीको छेउमा भक्तजनझैं घुँडा धसेर बस्छन् । मोबाइल फोन त्यहाँ बर्जित छ । ठूलो स्वरले कोही बोल्दैन । अघोषित अनुशासन छ । सत्याग्रहप्रति ऐक्यबद्धता र सम्मानको संवेदनाले जितेको छ ।

पाकिस्तानका विभिन्न विश्वविद्यालयमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै डा. अरुण कुमार सिंह जनबोलीका लागि लेख्छन् डा. केसीको अनसन आम जनताका लागि हो । नेपाली विसंगतीको लडाई हो । उनैले लेखेको शब्दमा किङ इडवड विश्वविद्यालयमा अध्ययनरत दिगज श्रेष्ठलाई कोर्ट गर्दै डा. सिंह लेख्छन् यो मेडिकल शिक्षामा देखिएको वेथिती प्रतिको लडाईमा सबैले साथ दिनुपर्छ ।
मेडिकल कलेजका विकृति र मनलाग्दी सम्बन्धनको विरोधमा पाँचौं शृंखलाको आमरण अनशन थालेको ८ दिन वित्यो, जस क्रममा उनको स्वास्थ्य झन्– झन् नाजुक बन्दै गएको छ । स्वास्थ्यको अति जटिलतामा पनि डा. केसि सासले भन्छन् बरु सरकारले मलाई मारोस्, जनताले सुख पाउन् । उनको यो शब्दले हरेक नेपाली जनतालाई स्तब्द बनाउछ । भक्कानिएर आउँछ । आँखाबाट मोति दान छुट्न छाल्छन् । तर अह यो देशको सरकारलाई कुनै प्रवाह छैन । उ त केवल राज गरिरहेको छ शासन हैन । त्यसैले त जनतालाई मार्ने हत्यारा सरकार कलंकको विल्ला भिर्न तयार छ ।
उनको मागलाई सबै नेपालीले समर्थन गरेका छन् । शिक्षण अस्पतालका आवासीय चिकित्सक अभियानलाई समर्थन गर्दै आन्दोलनमा ओर्लिसकेका छन् । तुल, ब्यानर र अपिल बोकेर पुगेका सर्वसाधारणले अस्पताल टनाटन भरिएको छ । कुनै पनि भित्ता खाली छैनन, जहाँ केसीबारेका विज्ञप्ति र लेखहरू नटाँसिएको होस् । देश विदेशमा मेडिकल शिक्षा पढिरहेका विद्यार्थीहरुले पनि केसिलाई बचाउ, डा. केसिको माग जायज छ भन्ने आवाज उठाईरहेका छन् तर सरकारले कानमा तेल हालेर बसेको छ र त त्यो आवाज उ सुन्दैन ।
जनताको मन मुटुमा बसेका अर्का मुटु रोक विशेषज्ञ डा. भगवान कोइराला भन्छन् यी डा. केसी सत्यवादी छन्, अरूसँग डग्दैनन् तर अव्यावहारिक चै छन्, तर गलत कुरामा सम्झौता कहिलै गर्दैनन । कोइराला त केसीका केसीका सहपाठी हुन् तर आलोचकहरू पनि उनका पदचिह्नमा खोट भेटाउन सक्दैनन् । भेटिन्छ कि भनी खोजी हिँड्छन् । केही नपाएपछि भनिदिन्छन्, उनी सन्काहा छन् । कसैको कुरा सुन्दैनन् । हो केसी तिनै दुई चरित्र, इमान र सनकले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बदल्ने अभियानको नेतृत्व गर्दैछ । आईओएम त एउटा प्रतिनिधि संस्था हो, कसैलाई मन परे पनि नपरे पनि यो सत्याग्रहले सिंगो नेपाली समाजको चेतनालाई जरैदेखि हल्लाउँदैछ । नेपालको सबभन्दा ठूलो शैक्षिक केन्द्रमा आवश्यक भइसकेको उलटपुलटबिना यो आँधी थामिनेवाला छैन । केसी अडानले यसै भन्छ । त्यसैले त उनी आमरण अनसनको पाँचौ श्रृङ्खलासम्म आइपुगेका छन् ।
को हुन् डा. केसी ?
डा. केसी जनताका सच्चा स्वास्थ्य सेवक हुन् । प्राध्यापन र डाक्टर पेसा अँगालेको झन्डै दुई दशक बित्न लाग्यो । तर उनले आजसम्म उनले विलासी जीवनको कल्पना समेत गरेका छैनन् । सार्वजानीक सवारीमा मात्रै भर छ, कार, मोटरसाइकल जोडेका छैनन् । मोबाइल फोन बोक्दैनन् । बरु मिल्यो भने साइकल किन्ने योजना सुनाउँछन् । आजसम्म अविवाहित छन् । उनको निजी सम्पत्ति भन्नु अफिसले खोलिदिएको बैंक खाता मात्रै हो । एउटा ल्यापटप छ । घरजग्गा जोडेका छैनन् । भएको पैतृक सम्पत्ति पनि बेचिसकेका छन् । बिहे गरेको भए यसरी घुम्न समय पाउँथिन कि भेघाटमा साथीभाइहरुसँग डा. केसी हास्दै जवाफ दिन्थे ।
उनी एसियाकै यस्ता नमुना चिकित्सक हुन् । नेपाल र विश्वका भूभागमा केही विपत्ति प¥यो डा. केसी पुगिहाल्थे । २०७० कात्तिक तेस्रो साता फिलिपिन्समा भीषण आँधीहुरी आयो । आँधी थामिइसक्दा पनि त्यसले छाडेका घाउले फिलिपिन्स छट्पटाइरहेको थियो । एक महिनापछि मंसिर तेस्रो साता नेपालका एक वरिष्ठ चिकित्सक त्यहाँको सर्वाधिक प्रभावित ताक्लोवान सहर ओर्लिए । आँधीपीडितको उपचारमा रातदिन भोकतिर्खा नभनी खटिए । अहिलेपनि फिलिपिन्सका जनता उनै डाक्टरलाई सम्झिरहन्छन् । फिलिपिन्सका समाचार संस्थाले बारम्बार विनावर्दीका स्वयंसेवक भन्दै प्रस्तुत गरिरहेको थियो । त्यो बेलाका डाक्टर उनै केसी थिए, जसलाई कुनै सरकार, रेडक्रस वा उद्धारक संस्थाले पठाएको थिएन ।
उनी अन्तर्मनको आवाज सुनेर फिलिपिन्सतिर हान्निएका थिए । अढाई लाख जनसंख्या भएको त्यो सानो सहर क्षतविक्षत थियो । डाक्टर केसीले दुई सातामै चार सय पीडितको उपचार गरे । तीमध्ये ६० घाइतेको त गम्भीर शल्यक्रिया नै गरे । खाने सुत्ने कुनै ठेगान थिएन । हुरीले उडाएका झ्यालढोकाविहीन घरमा अडेसो लागेर पाउरोटी र पानी खाएको भरमा रात कटाउँथे यी डाक्टर । दैनिक बीस घन्टासम्म उपचारमा खटिए । आफैंले आफैंलाई निःशुल्क रोजु लगाएका उनले तलबभत्ता पाउने कुरै थिएन । उल्टै त्रिवि शिक्षण अस्पताल महाराजगन्जको जागिरले आर्जेको कमाइ त्यसमा लगाए । औषधि र सामग्रीहरू किनेर बाँडे । डाक्टर भएका ठाउँमा बिरामी जानु स्वाभाविक कुरा हो । तर बिरामी खोज्दै हिँड्न सक्नेचाहिँ गोविन्द केसी नै हुन् । फिलिपिन्स मात्र पुगेनन्, त्यो भन्दा अघि भारतको उत्तराखण्डमा आइपरेको प्राकृतिक विपत्तिमा पनि उनी पुगेका थिए । दार्चुलाका पहिरोपीडितको उपचारका लागि चार दिन बिताएका उनी उतैबाट उत्तराखण्डको पहिरामा पुरिएकाहरूको उद्धार र उपचारमा दौडे । गौरीकुण्ड र पनौली घाटमा डेरा जमाएर सयौंको उपचार गरे ।
२०४५ मा भूकम्प जाँदा धरानमा ठूलो जनधन हताहत भएको सुन्नासाथ डा. केसी नाइटबस चढेर हुइँकिए । दुई दिन त्यहाँ बिताए । त्यसको झन्डै पाँच वर्षपछि काठमाडौं वरपरका गाउँमा स्वास्थ्य शिविर चलाए । २०६६ सालमा जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि केसी खच्चडमा औषधि लिएर सदरमुकाम खलंंगा पुगे ।

त्यहाँ १० दिन उपचार गरेरै बिताए । स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिए । लाग्छ, यी डाक्टरका लागि चिकित्सा जागिर होइन । धर्म हो । धर्मभन्दा माथिल्लो दर्जामा अरू केही छ भने केसीका लागि चिकित्सा त्यही हो । उपचार त काठमाडौं बसेर पनि गर्न सकिन्छ । केसीका कतिपय सहकर्मी डाक्टरलाई यस्तै लाग्छ । केसी ठान्छन् मान्छे जहाँसुकै होस, बिरामी भएपछि समयमा उपचार पाउनु उसको अधिकार हो । यस्तै सोच बोकेर केसी काठमाडौैंको रुटिनबाट बाहिर निस्किइरहन्छन् । उनले टेक्न बाँकी कुनै जिल्ला छैन । विदेश जान्छन् । विदेशी बिरामीले उनको भाषा नबुझ्लान् । केसी भन्छन्, बिरामीको कुनै देश हुँदैन । अनि, डाक्टरको पनि । पैसा कमाउनु ठूलो कुरा होइन, चिकित्सा पेसाको धर्म उनलाई थाहा छ, जहाँ उपचार चाहिन्छ, त्यहाँ डाक्टर पुग्नुपर्छ ।

२०६४ सालमा कोसी तटबन्ध भत्कियो । केसी काठमाडौंमै सेवारत थिए । तटबन्ध भत्केर हजारौं विस्थापित भएका थिए । तिनको स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टीभीले देखाउन थाल्यो । केसी टिचिङ हस्पिटलमा अडिन सकेनन । आफूसँग भएको पैसाले रातारात औषधि किनेर त्यसैको अर्को बिहान घटनास्थलतिर गुडे । पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय ५१ पीडितलाई जाँचे । औषधि बाँडे ।
सन् २००१ मा ४० हजार मान्छेको ज्यान जाने गरी भारतको गुजरातमा भूकम्प आउँदा केसी त्यहाँस्थित भुज नामक ठाउँमा तीन सातासम्म निरन्तर ओखतीमूलो गर्दै बसे । बंगलादेशको आँधीका यी साक्षीले त्यहाँका पीडितलाई पनि उपचार गरे । २००५ मा पाकिस्तानमा ठूलो भूकम्प आएपछि उनी त्यहाँ पनि साढे दुई साता स्वयंसेवामा होमिए । त्यहाँ पनि उसैगरी घाइते र बिरामी जाँचे । त्यसैगरी औषधि निःशुल्क बाँडे ।
सन् २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए । त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्र्नीसम्बन्धी तालिम पनि दिए । बर्मा सरकारले विदेशीलाई आँधीप्रभावित क्षेत्रमा छिर्न दिएको थिएन । केसी भने एक स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर प्रभावित क्षेत्र पुगे । त्यतिखेर बर्मा सरकारले चिनेको भए सहयोग गर्ने शिक्षकलाई १५ वर्ष जेल हाल्न सक्थ्यो ।
सन् २०१० मा हाइटीमा महाभूकम्प जाँदा उनी घटनास्थलमा खटिएका थिए । त्यहाँ उनले १६ दिन बिताए । दैनिक २५ घाइतेलाई जाँचे । तीन लाख मानिसको ज्यान लिने भूकम्प आएको समाचार सीएनएन टीभीमा हेरेपछि त्यहाँ जाने निश्चय गरेका थिए उनले । तीन सातामा २ सय ३२ शल्यक्रियासहित ३ सय ९५ जना घाइतेको उपचार गरे । देश–विदेशमा गरेका यी तमाम कामका लागि कसैबाट एक रुपैयाँ नलिएकोु उनी जिकिर गर्छन् । त्यही समर्पणको बलमा उनी आजसम्म शिर ठाडो पारेर हिँडिरहेका छन् । शक्तिमानहरूलाई उनका सामु झुक्न कर लागिरहेको छ ।
कुनैबेला नेपाल शसत्र द्वन्दले थलिएको थियो । त्यसबेला सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो । यी डाक्टर उपचार गर्दै मधेस, पहाड गरिरहेका थिए । माओवादी कार्यकर्तालाई परेछ, यो उपचारका नाममा हाम्रो सुराकी गर्न खटाइएको सरकारी गुप्तचर हो कि ? सरकारी सेना–पुलिसले पनि उनलाई कतै माओवादी त होइनन् पनि सन्देह गर्दा रहेछन् । गाउँलेहरू पनि सुरुमा माओवादी हो कि भन्दै भातबाससमेत दिन इन्कार गर्दा रहेछन्, जे जति दुःख र लान्छाना खेपेर पनि उनले युद्धमा लागेका गोली झिकीरहे, जनतालाई मलम पट्टी बाँधिनै रहे ।
के छ केसीको माग ? के भइरहेको छ नेपालको मेडिकल शिक्षा ?
चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालयको निर्माण हुनुअघि नयाँ मेडिकल कलेजको सम्बन्धन बन्द गरिनुपर्ने, चिकित्सा शिक्षा तथा स्वास्थ्य नीति निर्माणका लागि बनेको रिपोर्ट कार्यान्वयन गर्न सुनिश्चितता गरिनुपर्ने, ग्रामीण क्षेत्रमा मेडिकल कलेज खोलिनुपर्ने, दलीय भागबन्डाबाट पदाधिकारी छान्ने चलन खारेज गरिनुपर्ने जस्ता माग डा. केसीका छन् यी सबै जनपक्षीय हुन् । डा. केसी यो देशमा देखिएको वेतिथी प्रति हतियारको रुपमा उठाएका छन् आफ्ना मागहरु, अदालतका फैसलादेखि अख्तियार प्रमुखसम्मलाई ताकेका छन् । एक्लै छन् केसी । एकैपटक सबै क्षेत्रमा प्रहार गरिरहेका छन् । यसरी एउटा धनुकाँड सबै दिशामा एकैपल्ट ताक्दा रणनीतिक हिसाबले हार्न पनि सकिन्छ । कुनै–कुनै लडाइँ यस्ता हुन्छन्, जहाँ सत्यले सधैं जित्नैपर्छ भन्ने छैन । कुशल रणनीतिले जितिन्छ । केसी भने यसलाई फेल खुवाउन एक्लै कस्सिएका ।
भौतिक पूर्वाधार नपुगेका कलेजलाई गलत मनसायले सम्बन्धन दिनु गलत भएको, केसीको माग सही छ । केसीले पहिलो पटक २०६९ वैशाख २९ देखि जेठ २ सम्म अनशन बस्दा त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जनले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको दबाबमा वरिष्ठताका आधारमा पदाधिकारी नियुक्तिु को लिखित प्रतिबद्धता गरेका थिए । त्यही आधारमा उनले पहिलो अनशन तोडे । त्रिवि कार्यकारी परिषदले अनिवार्य अवकाश पाउन तीन महिना बाँकी रहेका डा. कुमुद काफ्लेलाई डिन बनायो । काफ्लेको म्याद सकिनासाथ डिन नियुक्तिमा फेरि भागबन्डाको तयारी सुरु भइहाल्यो ।
यस्तो प्रवृत्ति दोहोरिएपछि केसी दोस्रो पटक आमरण अनशन बसे । बीचमा कार्यकारी परिषदले वरिष्ठताको सूचीमा ३२ औं नम्बरमा रहेका धर्मकान्त बाँस्कोटालाई डिन बनायो । केसीले अनशन छाडेनन् । प्रधानमन्त्री भट्टराई बाँस्कोटा नियुक्तिको तेस्रो दिनमै वरीयता सूचीमा ५ औं नम्बरमा रहेका डा. प्रकाश सायमीलाई डिन बनाउन बाध्य भए । उही मेडिकल कलेजलाई नाजायज सम्बन्धनको अत्तो थापेर तिनै सायमीलाई राजीनामा दिन बाध्य पारिएपछि केसी यो पटक–पटकको रोगलाई अस्थायी उपचार गरेर निको नहुने ठहरमा पुगे । त्यसयता आजसम्म उनी राजनीतिक हस्तक्षेपमुक्त आईओएम माग्दै अनशनरत छन् । यसबीचमा दुई सरकार बदलिए, तर मन्त्रिपरिषद् त्यो माग पूरा गर्न उदासीन छन् ।
केसीको यसअघिको अनशनकै क्रममा सरकारले स्वास्थ्य शिक्षा नीति घोषणा नहुन्जेल कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको त्यसै निर्णयलाई आधार मान्दै केसीले अनशन तोडेका थिए । तर यसैबीच काठमाडौं विश्वविद्यालयले घुमाउरो बाटोमार्फत देवदह र विराट मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सफल भयो । केसीको पाँचौं अनशनको मुख्य कारण यही सम्बन्धन हुन पुग्यो । केयुले सम्बन्धन नभई एक्स्टेन्सन मात्रै भएको जिकिर गरेको छ । तर केसीले केयुको दाबी र सम्बन्धनमा कुनै भिन्नता नरहेको ठोकुवा गर्दै आएका छन् । केही पदाधिकारीले त्यसलाई रोक्न खोजे पनि माथिबाट हुने राजनीतिक निर्णयसामु उनीहरू निरीह बन्न पुगेको खुलाउँछन् ।