दक्षिणकोरियामा अध्ययनरत नेपाली विद्यार्थी समस्यामा

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

map-south-korea-360x270-cb1352148298दक्षिणकोरिया । कागजात प्रमाणीकरण गर्न लामो प्रक्रिया, भाषाको समस्या तथा छात्रवृत्तिमा पहुँच नपुग्दा दक्षिणकोरियामा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीले समस्या भोगिरहेका छन् ।

भर्नाप्रक्रिया र छात्रवृत्ति प्राप्त गर्न कलेजले दूतावासद्वारा प्रमाणित गरिएको कागजात अनिवार्य पेस गर्न सूचित गरेको हुन्छ । एक सेमेस्टरका लागि तीनदेखि चार हजार डलर शुल्क बुझाउनुपर्छ ।

चर्को कलेज शुल्कबाट छूटका लागि दूतावासबाट प्रमाणीकरण गरिएको कागजातको प्रक्रिया पूरा गर्न विद्यार्थीले हैरानी बेहोर्नु परिरहेको छ । कागजात प्रमाणीकरणको कानुनी अधिकार नोटरी पब्लिकलाई मात्रै हुन्छ । तर विदेशमा अध्ययनरत विद्यार्थीका लगि भने परराष्ट्र मन्त्रालयमार्फत प्रमाणित कागजात पुनः प्रमाणित गर्ने अधिकार दूतावासलाई दिइएको हुन्छ ।

विद्यार्थीले चारित्रिक प्रमाणपत्र, लब्धांकपत्र र अन्य सिफारिसका कागजपत्र प्रमाणित गर्न नेपाल हँदै पुनः दूतावास पुग्नुपर्ने हुन्छ । नेपालमा नोटरीबाट अनुवाद भई प्रमाणित गरिएको कागजपत्र शिक्षा मन्त्रालय, परराष्ट्र हुँदै पुनः दूतावास पु¥याएपछि मात्रै प्रमाणित गर्ने कार्य सकिन्छ ।

नेपाली विद्यार्थी समाज दक्षिणकोरियाका अध्यक्ष विमल सुवेदी भन्छन्, ‘एउटा छापले सबै प्रमाणीकरणकार्य सकिने अवस्थामा पनि नेपाल नपुगिनहुने अवस्था छ ।’

सुवेदीले यो प्रक्रिया सहज बनाउन भूतपूर्व शिक्षामन्त्री, परराष्ट्रमन्त्रीका साथै बहालवाला युवा तथा खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएकोमा दुखेसो पोखे ।

विद्यार्थीको समस्याबारे दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले भने, ‘कोरियामा मात्रै होइन, नेपाली रहेका अन्य देशमा पनि यो समस्या छ । दूतावासलाई परराष्ट्रमार्फत प्रमाणितलाई पुनः प्रमाणित गर्ने क्षेत्राधिकार छ । सरकारले मात्रै यो समस्या हल गर्न सक्छ ।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु