काठमाडौं । नेपालका खाना पकाउने ग्यास अति असुरक्षित धराप बम सावित भएका छन् । धादिङका २ वटा ग्यास उद्योगले सुरक्षा मापदण्ड पूरा नगरेले ती असुरक्षित रहेको ठहर छ ।
गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा ओम र नमस्ते ग्यास उद्योगले नेपाल गुणस्तर चिन्ह नलिएको तथा ग्यास सिलिन्डरको सुरक्षामा खेलवाड गरेको पाइएको गुणस्तर तथा नापतौल विभागका इन्जिनियर मनिष कर्णले जानकारी दिनुभयो ।
ओम र नमस्ते ग्यास उद्योगमा नेपाल गुणस्तर चिन्ह नलिएको, उद्योगमा ग्यास सिलिन्डरको तौल जाँच नगरेको, हाइड्रोलिक र भल्व परीक्षण नगरी रंग लगाएर सिलिन्डर नयाँ देखाएकोलगायतका कमजोरी देखिएपछि ति उद्योगमा ३ दिनसम्म ग्यास भर्न बन्देज लगाइएको छ ।
३ दिनभित्र उद्योगले ग्यास सिलिन्डरको सुरक्षा र मापदण्डसम्बन्धी सबै कागजातसहित विभागमा बुझाएर आवश्यक सुरक्षा प्रणाली अपनाएर मात्रै ग्यास भर्न भनिएको इन्जिनियर कर्णले जानकारी दिनुभयो ।
ग्यास सिलिण्डर पड्किने क्रम बढेसँगै विभागले गएको शुक्रबारदेखि देशैभरीका ग्यास उद्योगमा अनुगमन सुरु गरेको छ । टेम्पोमा ग्यास भर्नेसहित देशभर ५७ वटा ग्यास उद्योग भए पनि ४ वटाले मात्रै नेपाल गुणस्तर चिन्ह लिएका छन् ।