अवैध रुपमा सुन तस्करी गर्ने समूह धमाधम पक्राउ पर्न थाले

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

sun taskarजनबोली १८ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पछिल्लो समय अवैध रुपमा सुन तस्करी गर्ने समूह धमाधम पक्राउ पर्न थालेका छन् ।

पछिल्लो चार दिनमा मात्रै चार छुट्टाछुट्टै घटनामा चार नेपाली र दुई भारतीयसहित छ जना ठूलो परिणाममा अवैध सुनसहित पक्राउ परेका हुन् । आगमनको क्षेत्र हेर्ने भन्सारको समेत आँखा छलेर बाहिरिएपछि उनीहरू पक्राउ पर्नाले भन्सारको जाँचमा कर्मचारीको त्रुटि रहेको देखिएको छ । अभियुक्त सबै भन्सार जाँचपास गरी बाहिरिने क्रममा शङ्का लागी प्रहरीले जाँच गर्दा पक्राउ परेका थिए ।

चीनको नाका हुँदै स्थलमार्गबाट सुन ल्याउने समूहमाथि प्रहरीको निगरानी बढेको र धमाधम पक्राउ पर्न थालेपछि तस्करले विमानस्थलको मार्ग प्रयोग गर्न थालेको अनुमान गरिएको छ ।आज मात्रै विमानस्थल प्रहरीले छुट्टाछुट्टै तस्करीमा संलग्न तीन नेपाली र एक भारतीयलाई पक्राउ गरेको विमानस्थका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले जानकारी दिए ।

विमानस्थलबाट एक किलो २०० ग्राम सुन सुन ल्याउँदै गरेको अवस्थामा ललितपुरका तीन जनालाई प्रहरीले आज विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल एयरलायन्सको आरए ४०१ नंको उडानद्वारा बैंककबाट काठमाडौं आएका ललितपुर घर भएका राहदानी नं ०७७५८८४० बाहक ३४ वर्षीय राजु महर्जन, राहदानी नं ०८२६९६२२ बाहक ४६ वर्षीय ध्रुव महर्जन र राहदानी नं ०७८६२९४२ बाहक २५ वर्षीय कर्मा महर्जन रहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचका क्रममा उनीहरूले पाइन्टसको खल्तीमा लुकाइछिपाई ल्याएको अन्दाजी १५० ग्राम र मलद्वारमा लुकाएको अन्दाजी एक किलो १५० ग्राम गरी उक्त परिमाणको सुन प्रहरीले फेला पारेको थियो ।  यसैगरी एअर एसियाको डब्लु ७१९६ नंको उडानद्वारा मलेसियाबाट काठमाडौं आएका राहदानी नं जेड २९०५७१७ बाहक ३४ वर्षीय भारतीय हनिफ किथाएल्थ मोहम्मदलाई ६०० ग्राम सुनसहित प्रहरीले आज पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचका क्रममा उनको कम्मरको भागमा ‘फल्स बटम’ बनाई लुकाइछिपाई ल्याएको उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार पनि मलिनो एअर हुँदै मलेसियाबाट काठमाडौं आएका राहदानी नं ८५२६३७५ बाहक ३० वर्षीय भारतीयसयेड इब्राहिम अकबर अलिलाई सात टुक्रामा रहेको ७०० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।  विमानस्थलको प्रिपेड ट्याक्सी काउन्टर अगाडि शङ्का लागी प्रहरी टोलीले जाँच गर्दा मलद्वारभित्र लुकाइल्याएको अवस्थामा उक्त सुन फेला परेको थियो ।

नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट नेपाल आएका राहदानी नं ०७९७२०५७ बाहक राष्ट्रिय खेलुकद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई २५ तोला सुनसहित शनिबार पक्राउ गरिएको   थियो । पक्राउ परेलगत्तै लामा धरौटीमा रिहा भएका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७