​केन्यामा आतंकवादी आक्रमण, १ सय ४७ विद्यार्थीको हत्या

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१
नैरोवी, २० चैत (एजेन्सी) – अफ्रिकी देश केन्याको पूर्वी क्षेत्रमा रहेको एउटा विश्वविद्यालय परिसरमा चरमपन्थी संगठन अल शबाबले गोली हानेर १ सय ४७ विद्यार्थीको हत्या गरेको छ ।

केन्याको गरिसा सहरमा रहेको उक्त विश्वविद्यालय परिसरमा  बन्धुकधारी प्रवेश गरी विद्यार्थीलाई बन्धक बनाएका थिए । प्रत्यक्षदर्शीका अनुसार चरमपन्थी बन्धुकधारीले इसाई धर्म मान्ने विद्यार्थीलाई अलग गरेर गोली हानेका थिए ।

केन्याका सुरक्षाकर्मीले ५ सय विद्यार्थीलाई भने बचाएका छन् । यसमा ७९ जना भने गम्भीर घाइते छन् । केन्या सरकारले चरमपन्थी बन्धुकधारी विरुद्ध सुरक्षा बलको अभियान पूरा भएको र सबै आक्रमणकारी मारिएको जनाएको छ । विश्वविद्यालयमा ४ जना बन्धुकधारी प्रवेश गरेर आक्रमण गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुलले यस आक्रमणको निन्दा गरेका छन् । उनले यसलाई आतंकवादी आक्रमण भन्दै राष्ट्रसंघ आतंकवादविरुद्ध लड्न केन्या सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

सम्बन्धित खबरहरु