शान्ति सम्झौता उल्लंघन गर्ने प्रचण्ड नै हुन् : बामदेव

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

जनबोली/ २० चैत, सुर्खेत । गृहमन्त्री बामदेव गौतमले जातीका नाममा देश टुक्राउन नपाएको झोकमा प्रचण्ड सहितको मोर्चाले उद्दण्ड मच्चाएको आरोप लगाएका छन् । तराई, पहाड र हिमाललाई टुक्राएर एमाओवादीले जातीययुद्ध चलाउन चाहेको उनको आरोप छ ।
bamdev-gautam
भेरी बबई बहुउदेश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री गौतमले भने, ‘समय सीमामा संविधान दिन सहमति भइरहेको बेला प्रचण्ड कुर्लिंदै कुरौटे बनेपछि देशमा उद्दण्ड मच्चाउँदै हिँडे ।’

उनले देशमा विखण्डन र वितण्डा हुने सम्झौतामा एमालेले कहिल्यै हस्ताक्षर नगर्ने स्पष्ट पारे । गौतमले थपे, ‘जातका आधारमा जनतालाई लडाउन नपाएका कारण प्रचण्ड ३० दलको मोर्चा तयार गराएर आन्दोलन गर्दै हिँडेका छन् ।’

सहमति र सहकार्यको थुप्रै आधार रहँदा रहँदै एमाओवादीले संवादलाई लत्याएर सडक चहार्दै जनता भड्काएको आरोप गौतमले लगाए । ‘विकासको मुहार फेर्दै गरेको देशमा शान्तिको अनुभूति गर्दै आएका जनतालाई पुनः बन्दुके भाषामा थर्काउँदै प्रचण्ड आफै शान्ति सम्झौता उलङ्घन गर्दै हिँडेका छन्,’ गौतमले भने ।

प्रचण्डको आलोचनामा अधिकांश समय खर्चिएका उनले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई सहमतिमा ल्याएर संविधान दिने आश्वासन सुर्खेती जनतालाई दिए ।

‘संविधान आउँछ,’ गौतमले भने ‘धेरै ढिला भइसक्यो, अब जसरी भएपनि रुष्ट सबैलाई सहमति गराएर संविधान बनाउछौं ।’

सम्बन्धित खबरहरु