कोरिया जान भाषा परीक्षाको फराम खुल्यो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१
images
जनबोली/ २० चैत, काठमाडौं – दक्षिण कोरियामा रोजगारीका लागि जान परीक्षाको फराम खुलेको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना आह्वान गरी परीक्षाको लागि आवेदन फारम भरी दर्ता गर्न आह्वान गरेको छ ।

रोजगारीका लागि कोरिया जान इच्छुक १८ देखि ३९ वर्षका नेपाली नागरिकले बैशाख ३ देखि ६ गतेभित्र काठमाडौं उपत्यकाका ५ ठाउँ र काठमाडौं बाहिर ५ ठाउँमा भाषा परीक्षाको लागि आवेदन बुझाउन सक्नेछन् । काठमाडौंमा गौशालाको नेपाल वेद विद्याश्रम संस्कृत मावि, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि, कीर्तिपुरको ल्याबरेटोरी उच्च मावि, सातदोबाटोको महेन्द्र आदर्श विद्याश्रम र वालकुमारीको च्यासल फुटवल खेल मैदानलाई फारम बुझाउने ठाउँ तोकिएको छ ।

त्यस्तै काठमाडौं बाहिर धरानको सभागृह, जनकपुरमा चुरोट कारखानाको कभर्डहल, बुटवलको प्रहरी तालिम केन्द्र नजिकैको प्रदर्शनी मण्डप, पोखरा बाटुलेचौरको विन्ध्यवासिनी उच्च मावि र डडेल्धुरामा कर्मचारी मिलन केन्द्रलाई आवेदन फारम बुझाउने स्थल तोकिएको छ ।

फौजदारी अभियोगमा जेल परेका र गैरकानुनी रुपमा कोरियामा बसोबास गरेर नेपाल फिर्ता पठाइएकाहरुले भाषा परीक्षा दिन नपाउने इपिएस कोरिया शाखाले जनाएको छ । यसवर्ष कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र पशुपालन तर्फ २ हजार २ सय जना माग गरेको छ । कोरिया जान चाहने परीक्षार्थीले १००/१०० पूर्णाङ्कको पढाई र सुनाईको परीक्षा दिनुपर्नेछ ।

भाषा परीक्षाका लागि आवेदन गर्न २४ डलर अर्थात् झण्डै २४ सय नेपाली रुपैयाँ लाग्नेछ । परीक्षाका लागि आवेदन फारम बुझाइसकेपछि परीक्षास्थल संबन्धी सूचना जेठ २० मा सार्वजनिक गर्ने इपिएस कोरिया शाखाले जनाएको छ । जेठको ३० र ३१ गते हुने भाषा परीक्षाको नतिजा साउनको १६ गते सार्वजनिक हुनेछ ।

हेर्नुहोस् सूचना

सम्बन्धित खबरहरु