डा. केसीसँगको सहमति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

singh durbar

जनबोली/ २० चैत, काठमाडौं । सरकारले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग भएका सहमतिहरु कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । डा. केसीसँग भएको सहमतिलाई अनुमोदन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पत्र पठाउने निर्णय गरेको हो ।

बैठकले सहमति कार्यान्वयनको अवस्था अनुगमन गर्न मुख्यसचिवको संयोजकत्वमा चिकित्सक वाइपी सिंह र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झा रहेको समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिइएका कतिपय कलेजको सन्र्दभमा सत्यतथ्य पत्ता लगाउन पुनरावेदन अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्राईको संयोजकत्वमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सहसचिव रहने गरी आयोग गठन गरिएको सरकारका प्रवक्ता एवं सन्चारमन्त्री डा। मीनेन्द्र रिजालले जानकारी दिए ।

बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने, जैन धर्मगुरुको नेपाल भ्रमणको स्वागत तथा अन्य तयारीको जिम्मा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई दिने, लुम्बिनी विश्वविद्यालयका लागि जग्गा भाडामा लिने निर्णय पनि गरेको छ । यस्तै, शुक्रबारको मन्त्रिपरिषद बैठकले डडेल्धरा र ताप्लेजुङमा भएको आगलागीबाट पीडित बनेकाहरुका लागि ३० लाखसम्म सहुलियत ऋण दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित खबरहरु