दबाबकै भरमा राज्यबाट करोडौं अनुदान लिने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

moneyकाठमाडौ । विभिन्न दलका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका चर्चित ब्यक्तित्वको नाम जोडेर चलाएका अस्पतालले पहुँच तथा दबाबकै भरमा राज्यबाट करोडौं अनुदान लिने गरेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले बाँड्ने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत   हुँदैन । प्रष्ट नीतिबिनै बाँडिने रकम चरम दुरुपयोग हुने गरेको छ । कांग्रेस नेता बीपी कोइराला, महेन्द्रनारायण निधी, गिरिजाप्रसाद कोइराला, कम्युनिष्ट पार्टी संस्थापक पुष्पलाल र कम्युनिष्ट नेता मनमोहनको नाममा खुलेका अस्पतालले समेत यसरी रकम कुम्लयाउनेमा पर्छन् । रकम पाउने अधिकांश निजी तथा सामुदायिक अस्पतालले सेवा शुल्कका नाममा विरामीसँग पनि चर्को शुल्क असुल्दै आएको नागरिक दैनिकमा खबर छ ।

स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख गुणराज लोहनीले सामुदायिक अस्पताललाई प्रदान गरिने अनुदान वितरणसम्बन्धी स्पष्ट नीति नहुँदा राजनीतिक पहुँचवालाले धेरैजसो रकम लैजाने गरेको बताए । उनका अनुसार चालु अािर्थक वर्षमा मात्र ३५ भन्दा बढी सामुदायिक तथा निजी अस्पतालले मन्त्रालयबाट ५३ करोड १३ लाख रुपैंयाँ अनुदान बुझेका छन् ।

यसआर्थिक वर्ष सवैभन्दा बढी मनमोहन सामुदायिक अस्पताल, ठमेलले ५ करोड लगेको छ भने कम पाउनेमा अपाङ बाल अस्पताल छ । यसले १० लाख रुपैयाँ पाएको छ । हरेक वर्ष ४ देखि ५ करोड रुपैयाँ लैजाने मनमोहनमा एमालेनिकट नेता-कार्यकर्ता सञ्चालक छन् ।

डेढ वर्षअघिबाट मात्र सञ्चालनमा आएको महेन्द्रनारायण निधी मेमोरियल अस्पतालले पनि पहुँचकै भरमा यस वर्ष ५ करोड अनुदान लगेको छ । भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधी संरक्षक रहेको यो अस्पतालमा कांग्रेस नेता कार्यकर्ता सञ्चालक छन् ।

सम्बन्धित खबरहरु